आर्थिक घाटा सहन नसकेपछि गोपीकृष्ण हल बन्द
screennepal
प्रकाशित: २०८०, १ फाल्गुन मंगलवार
no img

काठमाडौं । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल आज (मंगलबा)रदेखि बन्द भएको छ । सञ्चालक गोपीकृष्ण मुभिज् प्रा.लिले आर्थिक संकटको कारण देखाउँदै केही दिनअघि नै हल बन्द गर्ने घोषणा गरेको थियो ।

विसं २०५२ सालदेखि सञ्चालनमा आएको उक्त सिनेमा हल मंगलबारदेखि औपचारिक रूपमा बन्द गरिएको निर्देशक निरक पौडेलले जानकारी दिए ।

कोरोना महामारीको संक्रमणकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोर्नु परेको पौडेलको भनाइ छ ।

ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न नसकिने पौडेलले बताए ।
दुईवटा पर्दाबाट सुरु गरेर ७ वटा पर्दासम्म पुगेको गोपीकृष्ण मुभिजले ४ वटा पर्दा भएको भवन २ वर्ष अगाडि नै भत्काएर मल बनाउने तयारी गरेको थियो । तर, अहिलेसम्म मलको काम समेत सुरु भएको छैन ।

पछिल्लो ‘रेड’, ‘ब्लू’ र ‘ग्रिन’ नाममा तीन पर्दा सञ्चालन गरेपनि दर्शकको सहभागिता न्युन रहँदै आएको थियो । तर, आजदेखि भने गोपीकृष्ण सिनेमा हल सधैंका लागि बन्द गरिएको छ ।

Comments