‘राती’ लिएर आउदै दीपक बज्राचार्य
screennepal
प्रकाशित: २०७६, ३ फाल्गुन शनिबार
no img

चर्चित पपगायक दिपक बज्राचार्यको नयाँ गीत ‘राती’ ल्याउँदैछन् । उक्त गीत उनले यही सोमबार सार्वजनिक गर्दैछन् ।
गायक दिपककै संगीत र रिक्की शाक्यको शब्द रहेको उक्त गीतको भिडियोलाई ठमेलस्थित क्लब एलओडीमा अत्याधुनिक लाइटसहित छायाँकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् । यो उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।
नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरकशैलीम गाउँदै आएका उनी दुई दशकदेखि यसै क्षेत्रमा छन् । नेपाली बाजाहरुको तालमा विश्वलाई नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्य भन्छन्, ‘आजकल पार्टी जाँदा पहिलाजस्तो मज्जा लाग्दैन, सहकर्मीहरु त्यति भेट हुँदैनन र चाडपर्व पनि अलि शुन्यशुन्य लाग्छ । मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु । फेसबुकतिर फोटो देख्छु, कहिले विदेशमा ट्रेनका सम्पूर्ण डब्बामा नेपाली भरिएको देख्छु । साथै विदेशतिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौँ दर्शक देखेर अचम्मित हुन्छु ।’
उनले भने, ‘आजकल मेरा आफ्नै साथी भाईसँग नेपालबाहिर मात्र धेरै भेट हुने गर्छ । यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको ? यो कस्तो आकर्षण प्रवासको ? मलाई राम्रोसँग थाहा छ, बाध्यता सबैको छ । बुझेको छु रहर होइन कर होला । तैपनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो ।’
उनले बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र भएको बताउँदै भने, ‘जोसँग हामीलाई लड्नुछ । यस भिडियोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु ।’ उनले आफ्नो ‘रात’ बोलको गीत कालो शक्ति अर्थात नेगेटिभ ईनर्जीसँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत भएको बताए । भिडियोमा सुन्दर र लोभलालचको सैतानलाई कला, संस्कृतिमार्फत सकारात्मक रुपमा देखाउने प्रयास गरेको बताए । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाई फिचारिङ गरिएको छ ।

Comments