रुपकुमार र राधाको गीतमा किराती मिथक ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १ भाद्र आईतवार
no img

गायक रुपकुमार राई र गायिका राधा राईले किराती मिथकमा आधारित गीत ल्याएका छन् । ‘नाना तायामा, भाइ हेछाकुप्पा’ बोलको उक्त गीतको भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गीतमा दिदी–भाईको कथा उनिएको छ ।
सार्वजनिक गीतमा बरिष्ठ गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको छ । किराती मिथक अर्थात मुन्धुमअनुसार आदिम किराती पुर्खाका तीन सन्तान थिए । तिनै सन्तानमध्ये दिदी तायामा र भाई हेछाकुप्पाको कथालाई आधार बनाएर ‘नाना तायामा, भाई हेछाकुप्पा’ बोलको गीत तयार गरिएको हो । गीतमा पृथ्वीको उत्पत्तिदेखि जीवजन्तु सृष्टिसँग समेत जोडिएको छ ।
‘नाना तायामा, भाइ हेछाकुप्पा’ गीत दुई दिदी–भाईले कथामा आधारित रहेको छ । किराती मिथकमा ठूली दिदी (तायामा) लेकतिर र कान्छी दिदी खियामा औलतिर झर्छिन् । भाईलाई छाडेर दिदीहरु हिँडेपछि हेछाकुप्पाको कठोर संघर्ष सुरु हुन्छ । कालान्तरमा तिनै माइती र चेलीको कथा मुन्धुममा उनिएको कुरालाई गीतले बोलेको छ ।
भिडियोमा सेसुका राई, अस्मिता राई र रामदीप राईले अभिनय गरेका छन् । भिडियोमा युवराज राईको निर्देशन र दिनेश माङ्मुका कोरियोग्राफी रहेको छ ।
रुपकुमार राई पछिल्लो समयका व्यस्त गायक हुन् । नेपाली गीतसंगीतमै एक दशकभन्दा बढी बिताइसकेका रुपकुमारको दर्जनाँै गीत चर्चित छन् । तीमध्ये ‘राम साइँली’, ‘गुन्दु्रक किनामा’, ‘चर्चा’लगायत हुन् । तर, पछिल्लो समय सार्वजनिक भएको ‘नाना तायामा, भाइ हेछाकुप्पा’ एकदमै फरक शैलीको रहेको । यस गीतलाई व्यवसायी नभएर एउटा इतिहासको रुपमा लिइएको उनले बताए ।

Comments