नेतादेखि कलाकारसम्मको माग : २०७५ लाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणा गरौं !
screennepal
प्रकाशित: २०७४, २४ फाल्गुन बिहीबार
no img

काठमाडौं, २४ फागुन । यो आउँदो २०७५ साललाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग पत्र बुझाइएको छ ।
वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रि«य युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताए । ‘राजधानीलगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ, यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु’, प्रधामन्त्रीले भने ।

?

‘समृद्ध नेपालको निर्माणका लागि पहिलो कदमका रुपमा सम्पूर्ण देशलाई सफा र स्वच्छ बनाउने उद्देश्यले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न नेपाल सरकारलाई विशेष अनुरोध गर्दछौँ र यस पुनीत कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ व्यहोरामा पूर्वराष्ट्रपति डा रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गरेका छन् ।
सरसफाइ माग पत्रमा नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायील हस्ताक्षर गरेका छन् ।
नायिका एवम् वाग्मती सफाइदूत कोइरालाले सफा नेपाल बनाउनु सबै नेपालीको कर्तव्य हुनुपर्ने उल्लेख गर्नुहुँदै जन्मभूमिको सफाइमा जुट्न सरसफाइ वर्षको आवश्यकता रहेको हस्ताक्षर पत्रमा उल्लेख गर्नुभएको छ ।
साहित्यकार डा झमककुमारी घिमिरेले नेपाल सफा, नेपाली मन सफा, स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने धारणाप्रति ऐक्यबद्धता जनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिनुपर्ने उल्लेख गर्नुभएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ ।
उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट शुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख शहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।
सरसफाइ वर्ष घोषणाको माग गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट र नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले समेत हस्ताक्षर गरेका छन् ।

 

Comments