सरस्वतीको रकिङशैली : तीज रकमै जम्ने भो…(भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १३ श्रावण शुक्रबार
no img

काठमाडौं, १३ साउन । गुन्यू–चोली अर्थात साडीमा एक रकस्टारलाई आफ्नो आँखै अगाडि पाउँदा यहाँहरुलाई कस्तो लाग्छ ? पक्कै भन्नुहुनेछ, ‘सम्भव छैन ।’ तर, असम्भवलाई पनि सम्भव गर्दै आएकी ‘नेपाली रकस्टार’ भनेर चिनिएकी गायिका सरस्वती लामाको यो प्रस्तुत भिडियो हेर्नुस् त, उनले साडीमै काँधमा गितार भिरेर आफ्नो रक–शैली प्रस्तुत गरेकी छन् ।
नेपाली नारीहरुको पर्व हरितालिका तीजलाई लक्षित आफ्नो ‘रकमै जम्ने भो…’ बोलको गीतमा सरस्वतीले नयाँस्वाद पस्केकी छन् ।

हुन त यो तीजे गीत देखेर धेरैलाई अनौठो लाग्न पनि सक्ला किनकि, तीज गीत भन्नेवित्तिकै गलामा पोते लर्काएर नाचिन्छ भन्ने नेपाली मानसिकता छ । तर, परिवर्तित समयसँगै तीज पर्व तथा गीतमा फेरबदल भएको छ । केही वर्षयता तीज गीतहरु चेली–माइती अनि सासु–ससुराको दरारमा मात्र केन्द्रित छैन । तीज गीतमा ढिस्को जाने, भोड्का खाने जस्ता शब्दचयन गीत प्रसस्त आउन थालेका छन् । तैमाथि सरस्वती ‘रकस्टार’ मानिन्छिन् । र, श्रोता र दर्शकले पनि त्यो स्वीकारेका छन् । उनका हरेक गीत तथा प्रस्तुती रकिङ हुन्छ । त्यसैले पनि एक रकस्टारको तीज गीतमा ‘रकिङशैली’ हुनलाई अनौठो नमाने हुन्छ ।
सरस्वतीको यस तीज गीतले आधुनिक युवा–पुस्तालाई प्रतिनिधित्व पनि गरेको पाइन्छ किनकि हिजोआजका युवा रकमै रमाउन चाहन्छन् । सरस्वतीले पनि यो गीत दर्शक तथा श्रोताको रोजाई मनोभावअनुसार गीत बनाएको बताएकी छन् ।
उनको ‘रकमै जम्ने भो…’ बोलको यस गीतमा ‘साडी लगाउँदा कतै तालि नबज्ने तर छोटा पहिरन लगाउँदा तालि बज्ने’जस्ता शब्द चयन गरेकी छन् । वास्तवमै पछिल्लो समय नेपाली पहिरनलाई वास्ता नगरिएको आभाष बजारमा पाइन्छ ।
सरस्वती र कृष्ण केसीको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको ‘रकमै जम्ने भो…’ गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन । यस भिडियोमा रिना, विपाशा, निशा, मल्लिका, सुनिता, बाबुरामलगायतका कलाकारले अभिनय गरेका छन् । आशा गरौं, सरस्वतीको यस गीतले तीजमा नेपाली दिदी–बहिनीहरुलाई ‘रकिङ’ गर्न सकोस् ।

Comments