भदौ २४ मा पहिलोपटक एकल शोमा प्रस्तुत हुँदै अञ्जु पन्त
screennepal
प्रकाशित: २०७४, ३१ असार शनिबार
no img

काठमाडौं, ३१ असार । नेपाली सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तका फ्यान तथा शुभचिन्तकका लागि खुुसी खबर छ । दुई दशकभन्दा लामो समययता नेपाली संगीत क्षेत्रमा निरन्तर आफूलाई क्रियाशील गराई चर्चाको शिखरमा रहेकी अञ्जु पहिलोपटक एकल शोमा प्रस्तुत हुँदैछिन् । उनी आगामी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल शोमा प्रस्तुत हुने भएकी छन् । यो कुरा शनिबार पत्रकार सम्मलेन गरी जानकारी गराएको हो ।


म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपाल र अञ्जु पन्त फाउण्डेशनको आयोजनामा हुने ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ कार्यक्रमबारे बोल्दै गायिका अञ्जुले भनिन्, ‘आज म निकै खुसी छु किनकि, नेपाली संगीतमा दुई दशकभन्दा लामो समय व्यतित गरिसकेकी छु । तर, पहिलोपटक एकल साँझमा प्रस्तुत हुन लागेकी छु ।’ उनले यसअघि पनि विभिन्न संस्था र व्यक्तिबाट एकल साँझका लागि प्रस्ताव आएर पनि समय अभावका कारण प्रस्तुत हुन नसकेको बताइन् ।


‘एकल साँझका लागि बल्ल साइत जुरेको छ’, अञ्जुले पत्रकारहरुसँग भनिन्, ‘यसपटक प्राविधिकहरुबाट अफर आएकाले पनि नाइँ भन्न सकिनँ किनकि, म प्राविधिकहरुलाई सधैं सम्मान गर्छु ।’ उनले उक्त दिन आफ्ना चर्चित र सदावहार डेढ दर्जन गीत सुनाउने बताइन् ।
आफ्नो एकल साँझबारे जानकारी कार्यक्रममा निकै खुसी देखिएकी अञ्जुले यसो पनि भनिन्, ‘कार्यक्रमबाट उठेको रकममध्ये खर्च कटाएर बचेको आधा रकम रेर्कडिस्टहरुको संस्था र आधा आफ्नो फाउण्डेशनमार्फत बालबालिकाका लागि खर्च गर्नेछु ।’ मानिसको जीवनका शिक्षाभन्दा अरु केही ठूलो नहुने बताउँदै उनले भनिन्, ‘अञ्जु पन्त फाउण्डेशनले शिक्षालार्ई प्राथमिकता दिएको छ ।’
कार्यक्रममा म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपाल दीप तुलाधर, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीलगायतले एकल साँझको सफलताका लागि अञ्जुलाई शुभकामना दिए । । तर, एकल शोमा प्रस्तुत हुनभन्दा अगाडि अञ्जु एक महिने अमेरिकाको सांगीतिक टुरमा सहभागी हुनेछिन् ।

Comments