‘द हर्ट बिट’ सार्वजनिक गर्दै समीर
screennepal
प्रकाशित: २०७४, २७ जेष्ठ शनिबार
no img

काठमाडौं, २७ जेठ । गायन करिअरमा गायक समीर लिम्बूले केही दिनमै एउटा ‘टर्निङ प्वाइन्ट’ अर्थात् एउटा घुम्ती पार गर्दैछन् । करिब पाँच वर्षयता गायनमा सक्रिय समीरले ‘द हर्ट बिट’ नामक आफ्नो पहिलो गीति एल्बम ल्याउँदैछन् । जुन उनका लागि ‘टर्निङ प्वाइन्ट’ सावित हुनेछ । समीरको ‘द हर्ट बिट’लाई श्रोता तथा दर्शकले यही ३० गते अर्थात् यो मंगलबार आफ्नो हातमा पाउनेछन् ।
श्रोता तथा दर्शकलाई आफ्नो हर्ट बिट सुम्पन्न आतुर समीर भन्छन्, ‘मेरो द हर्ट बिट भव्य र सभ्य रुपमा सार्वजनिक गर्दैछु किनकि, यो मेरो पहिलो एल्बम हो ।’ समीरले आफ्नो एल्बम सार्वजनिक समारोह बागबजारस्थित हार्दिक होटलमा गर्दैछन् । जहाँ सम्पूर्ण मिडियाकर्मी तथा आफ्ना साथीभाई र आफन्तजनलाई खुला निम्तो गरेका छन् ।
०६५ सालदेखि स्टेज र कभर सङहरु गाउँदै गायनमा होमिएका समीर मिठो स्वरमा धनी छन् । उनले कभर सङ गाएरै श्रोता तथा दर्शकको मन जित्न सफल हँदै आएका छन् ।
हुन त समीरले आफ्ना केही गीतका भिडियोहरु समेत सार्वजनिक गरिसकेका छन् । ती गीत तथा भिडियोबाट पनि उनले आफ्नो गायन करिअरमा प्लस प्वाइन्ट पाएका छन् । हेर्दा मोडलभन्दा कम नदेखिने समीरका धेरैजसो महिला श्रोता तथा फ्यान छन् । उनी नेपाली गायन क्षेत्रमा ह्याड्सम गायकका रुपमा चिनिन्छन् । यिनै गायकले अब आफ्नो औपचारिक एल्बम ‘द हर्ट बिट’मार्फत श्रोता एव) दर्शकको ढुकढुकी बन्न चाहन्छन् ।
समीरको ‘द हर्ट बिट’ मा अहिलेका चर्चित संगीतकारको संगीत छ । राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, कमल खत्री, प्रमोद मोक्तान, कमल रसाइँली, कुसल राई जस्ता संगीतकारको संगीतका तयार भएको ‘द हर्ट बिट’ मा तिम्रो त्यो, मायामा, तिमीले त, धरान पुर्व, म त डुबे, वैशैमा र सोल्टिनी जस्ता गीत समावेश छन् । जसले श्रोता तथा दर्शकको मन छुने गायक समीरको विश्वास छ । समीर भन्छन्, ‘हेरौ, श्रोताको कस्तो प्रतिक्रिया पाइने हो । तर, मेरो तर्फबाट भने निकै मिहिनेत गरेको छ ।’

Comments