‘मजा छुट्टै’पछि ‘रोदन’ ल्याउँदै सन्तोष
screennepal
प्रकाशित: २०७२, २८ असार सोमबार
no img

काठमाडौं । गायक सन्तोष अधिकारी यतिबेला रोदनको यात्रा गरिरहेका छन् । ‘प्रवेश’ बाट प्रवेश गरी मजा छुट्टै रोदनतर्फ लम्किरहेका सन्तोषको रोदन अब कस्तो भएर स्रोता माझ आउला भन्ने प्रतिक्षाको विषय बनेको छ । आफ्नै रचना, संगीत र स्वरमा रहेको ‘रोदन’ एल्बममा समावेश एक गीतमा आशिष अबिरलको एरेन्ज रहने भएको छ, जुन गीत छिट्टै रेकर्डिङ हुने सन्तोष बताउँछन् ।

santosh adhikari
सन्तोष गायक मात्र होइनन् राम्रो शब्द सिर्जना पनि गर्छन् भने संगीत पनि आफैं भर्ने गर्छन् । उनका केही गीतहरु उत्कृष्ट बन्न सफल भएका छन् । नलाङ–७ बैरेनी धादिङमा जन्मिएका सन्तोष स्कुलस्तरीय कार्याक्रमदेखि नै गायनमा उत्कृष्ट हुँदै आएका हुन् । संगीतको औपचारिक शिक्षाविनै प्रतियोगिताहरुमा उत्कृष्ट गायकको रुपमा सफलता हात पार्दै आएका उनले शिक्षकहरुकै प्रेरणामा संगीत शिक्षा लिँदै गायनको बाटो अँगालेका बताए । त्यसो त उनको प्रेरणामा साथ दिने उनका दाजु शम्भु अधिकारी हुन् । जो संगीतका विद्यार्थी हुन् । डेढ दर्जनजति गीतमा स्वर दिइसकेका अधिकारी ०६७ सालमा संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । ०६९ सालमा पहिलो एल्बम ‘प्रवेश’ बजारमा ल्याएपछि उनको नाम सांगीतिक क्षेत्रमा सुनिन थालिएको हो तर त्यो उनका लागि पहिलो पाइला मात्र थियो । त्यसपछि उनको निरन्तरतामा ‘मजा छुट्टै’ नामक एल्बम ल्याए । उक्त एल्बमले उनलाई उचाईमा पु¥यायो । जुन एल्बमबाट उनले ‘रापती म्यूजिक अवार्ड’मा उत्कृष्ट नवगायकको अवार्ड चुम्न सफल भए भने म्यूजिकखबर अवार्डलगायत धेरै अवार्डमा उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल भएका थिए ।
संगीतका कखरा संगीतकार प्रकाश गुरुङसँग सिकेका अधिकारीले डेढ वर्षको आधुनिक संगीतको कोर्स पूरा गरी संगीतकार चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेका छन् । करिब तीन वर्षसम्म निरन्तर शास्त्रीय संगीतको कक्षा लिएपछि गायन र संगीतको अलावा उनले एरेन्जको कामलाई पनि आत्मसात गरे । सेमीक्लासिकल बेसमा रहेर आधुनिक गीतसंगीत रचना गर्ने र गाउने गरेका अधिकारी स्कुलदेखि नै नारायण गोपाल र गोपाल योञ्जनको गीतहरुमा अभ्यास गर्दै आफ्नो गायनको बाटोलाई अगाडि बढाइरहेका छन् ।

Comments