पढ्ने साइन्स, लेख्ने लोकगीत
screennepal
प्रकाशित: २०७१, ९ फाल्गुन शनिबार
no img

काठमाडौं । अध्ययन भौतिक शास्त्र, दिनचर्या गीतिकारिता । गीतकार शिव सुबेदीको यो छोटो परिचय हो । आफ्नो अध्ययनसँग कुनै मेल नखाने पेसा अँगालेका शिव एक यस्ता गीतकार हुन्, जसले आफूले लेखेका गीतको आधा संख्या अवार्ड पाइसकेका छन् । एक दशकको सिर्जनायात्रामा शिवले दुई दर्जनको हाराहारीमा गीत लेखेका छन्, तीमध्येबाट उनले एक दर्जनबाट विभिन्न अवार्ड थापिसकेका छन् ।

Shiv Subedi

गीतकार शिव सुबेदी

०६१ सालमा ‘रानी वनको शिर’ गीतमार्फत गीतिकारितामा प्रारम्भ गरेका शिव ‘घामजस्तो चम्किलो जुन हुँदैन’मार्फत चम्केका हुन् । उनले यसै गीतबाट मात्र तीनपटक उत्कृष्ट गीतकारको अवार्ड थापे । उनले लेखेका अधिकांश लोकगीत ‘हिट’ हुने गरेको छ । त्यसैले नेपाली लोकसंगीत क्षेत्रमा शिवबारे एउटा भनाइ नै छ, ‘शिवले लेख्यो कि हिट भयो ।’
शिवका ‘घामजस्तो चम्किलो जुन हुँदैन’, भूमरीमा परेँ भने’, घामले नि पाल्दीयौं’, भूल्नै भयो धौं’लगायतका करिब एक दर्जन लोकगीत चर्चित छन् । ‘घामजस्तो चम्किलो जुन हुँदैन’ गीतबाट उनले ०६४ सालमा अन्नपूर्ण म्युजिक अवार्डमा लोकतर्फ उत्कृष्ट गीतकारको अवार्ड थालेका थिए । त्यसपछि ‘भूल्नै भयो धौ’ बाट विन्ध्यावासिनी अवार्ड, ‘मेरो आधा जीन्दगी’ बाट राष्ट्रिय लोकदोहोरी अवार्ड, ‘किन यस्तो हुन्छ’ गीतबाट उनले म्युजिक खबर अवार्डमा पाए । कतिपय अवार्ड दोहो¥याएको शिव बताउँछन् । उनका अनुसार गीति सिर्जना पनि घामजस्तै चम्किलो हुनुपर्छ । घाम स्थानमा जुन प¥यो भने ओझल पर्छ ।
शिवका हरेक गीति सिर्जना ‘हिट’ हुने र अवार्ड पाउन थालेपछि ‘शिवले लेख्यो कि हिट भयो’ भन्ने भनाइ लोककर्मीले बनाएका हुन् । यसबारे गीतकार शिव भन्छन्, ‘म हत्तपत्त गीत लेख्दिनँ, लेखे पनि पैसामा बेच्दिनँ । त्यसैले मेरो अधिकांश सिर्जना राम्रा हुन्छन् । राम्रो सिर्जना मेरो मात्र होइन, सबैको हिट हुने गर्छ ।’ ‘दुखेको देश’, ‘आमा तिम्रो दुधको भाडा तिर्न सकिन’ जस्ता चर्चित राष्ट्रिय गीतका गीतकार शिव अहिले संगीतकार अर्जुन पोखरेलको संगीतमा एउटा राष्ट्रिय गीत ल्याउने तयारीमा छन् । उनको ‘एउटा सन्तान जन्माइदेउ आमा’ बोलको राष्ट्रिय गीत तयारी भइसकेको छ । केही दिनमै सो गीत सार्वजनिक गर्ने शिवले बताए ।

Comments