काठमाडौं । कलाकार तथा कला समीक्षक रमेश खनालको ३०औं एकल कला प्रदर्शनी अरुपण आर्ट ग्यालरीमा मंगलबारबाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कलामा खनालले बहुआयामिक रुपमा योगदान पु¥याएको बताइन् । उनले भनिन्, ‘कला लेखन, कलाकारिता, ग्यालरी सञ्चालन तथा कला गतिविधिमा क्रियाशिल रहेर खनालले पु¥याएको योगदानको नेपाली कला क्षेत्रले सदैव सम्झने छ ।’
सो कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले खनालका चित्रमा अमूर्त चिन्तन भएपनि भावपरक र नेपाली परिवेशसँग मेल खाने खालका चित्र रहेको बताए । उनले भने, ‘अमूर्त कलामा आफ्नो भावाव्यक्ति व्यक्त गर्दै खनालले रङलाई जादुगरी रुपमा खेलाएका छन् ।’
अन्तरहृदयको ब्रमाण्डलाई रङका माध्यमबाट भावाव्यक्ति गर्न सफल कुचिकारका रुपमा चिनिएका खनालका कलामा भेटिने रङ कुशलताभित्रको गहिराई हृदयस्पर्शी र मनोवेगलाई तीब्र पार्ने खालको छ । रङभित्रको संसारमा जीवनको सरलताको खोजीमा खनालका कला लयबद्ध लाग्छन । सङ्गीतको सुरलहरमा नाचेजस्तै मग्न मनको कलापूर्ण प्रस्तुतिमा चित्रले परख गराएको अनुभुति हुन्छ ।
चित्रमा सरलता भित्रको गम्भीरता र गम्भीरता भित्रको मानवीय मूल्यबोधको खोजी नै प्रमुख विषयका रुपमा देखापरेको छ । रङ विधान र संयोजनमा देखिने अब्बलता उनका चित्रका विशेषता हुन् । समयपीडा र मानवीय जीवनमाथि भएका अमूर्त प्राकृतिक सर्तका घतलाग्दा पाटालाई रङ मनोवेगमार्फत चित्रण गरिएको छ । अर्थात भूकम्पपीडाको त्रासदीपूर्ण परिवेश झल्किने रङ छनौट र त्यसको प्रस्तुति निकै संयोजित लाग्छ । अघिल्ला अरुपण श्रृङ्खलामा कालो रङ अन्य रङको छायाँमा पथ्र्यो भने यसपटक यो रङको प्रधानता सबलताका साथ देखापरेको तर त्यसमा ओजपूर्ण शालिनता छ ।
आफ्ना चित्रका विषयमा खनाल भन्छन्, ‘समयावेग र भावावेगको संयूक्त संयोजनमा यी चित्र बनेका छन् । यिनमा मानवीय स्वतन्त्रता र उन्मुक्त समाजको परिकल्पना छ । समाज र मानवबीचको सन्तुलन मैले यी कलामार्फत व्यक्त गर्न खोजेको छु ।’ सो कार्यक्रममा ग्यालरीका कार्यकारी निर्देशक रिता खनालले नेपाली कला क्षेत्रको विकासमा ग्यालरीले काम गर्ने बताइन् । २० दिनसम्म रहने सो प्रदर्शनीमा अरुपण चिन्तनमा रचिएका ३० थान कला राखिएको छ र ७५०० देखि २५ हजार मूल्यसम्म राखिएको छ ।