नेवा छेँ ग्यालरीमा पाँच कलाकारको ‘तरंग’
screennepal
प्रकाशित: २०७३, १४ पुष बिहीबार
no img

ललितपुर, १४ पुस । पाँचजना कलाकारका कलाकृतिको प्रदर्शनी पाटनस्थित नेवा छेँ ग्यालरीमा बुधबारबाट सुरु भएको छ । ‘तरंग’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा कलाकार कृष्णगोपाल श्रेष्ठ,सरिता डंगोल, सन्ध्या सिलवाल, सत्यशिला कसजू, सञ्जित महर्जनका कलाकृति राखिएको छ ।

sarita6
क्लासिक ग्यालरीको आयोजनामा भएको सो प्रदर्शनीमा पाँच कलाकारले बनाएका नेपाली परिवेशका विविध विषय समेटिएका कलाकृति राखिएको छ । ज्योति गु्रपका निर्देशक सौरभ ज्योतिले एक समारोहका बीच उद्घाटन गर्दै कला र संस्कृतिले नेपालीलाई जीवन्त बनाएको बताए । कार्यक्रममा कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलामा नयाँ चिन्तन र परिवेशलाई कलाकारले समेट्न सकेको बताए । प्रदर्शनीमा राखिएका कलामा नेपालको सन्दर्भका साथै कलाकारका सिर्जनशील भावनालाई समेटिएको सहभागी कलाकार कृष्णगोपाल श्रेष्ठले बताए । उनले भने, ‘समाजका सांस्कृतिक तथा सामाजिक परिवेशजन्य विषयलाई रचनात्मक रुपमा क्यानभासमा समेटेर कलाकारले कलाकृति बनाएका छन् । यी कलाका चिन्तन र शैलीले नेपाली कलाको समसामयिक सन्दर्भलार्ए समेत कलात्मक रुपमा समेट्न सकेको अनुभूत मैले गरेको छु ।’
नेपालमा १० दिनसम्म रहने सो प्रदर्शनी पश्चात भारतको भेन्ट्कटपा आर्ट ग्यालरी बेंग्लोरमा सन १६ जनवरी २०१७ देखि २० जनवरीसम्म प्रर्दशनीमा राखिने छ । भारतको ‘कलामित्र फाउन्डेसन’को आयोजनामा हुने सो प्रदर्शनीको उद्देश्य सधैं समाज, मानव विचार तथा इतिहासलाई प्रतिनिधित्व गर्नु रहेको छ ।
प्रदर्शनीमा स्थिर विषयवस्तुलाई कलात्मक रुपमा क्यानभासमा उतार्दै कलाकार सरिता डंगोलले खुर्सानी बिम्बमा आफुलाई चिनाउन खोजेकी छन् । समयको गतिसगै बद्लाव आउने विभिन्न कारणहरुले गर्दा होला उनका चित्रमा रहेका खुर्सानीमा पनि रङको भिन्नता पाइन्छ ।
कलाकार सन्ध्या सिलवालले जीवन र जगत्को सम्बन्ध एक आपसमा परनिर्भरताका साथ चलिरहने कुरालाई आकर्षक रुपमा क्यानभासमा प्रस्तुत गरेकी छिन् । उनका कलामा अस्तित्व र भावनाका विभिन्न पक्षका साथै जीवनमा सुख र दुःख पनि दिन र रात जस्तै एकपछि अर्को आउने क्रम निरन्तर चलिरहने अटुट र वास्तविक चक्रलाई दर्शाएको पाइन्छ । उज्ज्यालो तथा रापिलो रङको प्रयोग उनका चित्रमा गरिएको छ ।
नेपाली संस्कृति र सम्पदामा तुलिका चलाउँदै आएका कलाकार कृष्णगोपाल श्रेष्ठले संस्कृति, सम्पदा र धार्मिक विषयलाई क्यानभासमा उतारेका छन् । उनले २०७२ सालमा गएको भूकम्प र त्यसले ल्याएको त्रासदीपूर्ण अवस्थालाई निकै कलात्मक रुपमा क्यानभासमा आफ्ना भावना प्रस्तुत गरेका छन् । भूकम्पले नेपालका पुरातात्विक सम्पदामा पु¥याएको क्षतिलाई निकै मिहिन र आकर्षक रुपमा प्रस्तुत गरेका छन् ।
मानिसका खुशी र दुखका बिम्बलाई क्यानभासमा उतारेर अर्का कलाकार संजित महर्जनले मानवीय मनोदशालाई अभिव्यक्त गरेका छन् । कुनै एउटा विषयमा मात्र केन्द्रित नरही उनले विभिन्न फरक विचार तथा भावनालाई क्यानभासमा उतारेका छन् ।
समय, परिवर्तन र अनित्यलाई तुलिकाको सपाट प्रयोगमार्फत कलाकार सत्यशिला कसजूले आफ्ना भावना प्रस्तुत गरेकी छन् । परिवर्तनशील परिवेशलाई उनले बिम्बात्मक रुपमा चित्रण गरेकी छन् । यो जगतमा हरेक क्षण केही न केही परिवर्तन भइ नै रहेको हुन्छ । जसरी बादलको आकार र अवस्थामा क्षणभरमै परिवर्तन देखिन्छ त्यसरी नै यस संसारका प्राणी, समाज र यहा“ विद्यमान कुराहरुमा केही न केही परिवर्तन भइरहने विषयलाई कसजूले चित्रण गर्दै त्यो अनित्य क्रमलाई समाज, मानव र विश्व परिवेशसँग जोडेकी छन् । प्रदर्शनी पुस २६ सम्म जारी रहनेछ ।

Comments