काठमाडौं, १ पुस । भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’ सुरु भएको छ । सवकन्टिनेन्टल आर्टमा छनोट भई नेपालबाट तीनजना कलाकार सो फेस्टिबलमा सहभागी भएका छन् ।
सहभागी कलाकारमा कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बु रहेका छन् । राजनीति, संस्कृति तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार कविराज लामाले बताए ।
नेपालबाट राजनीतिक विषयमा लामाले वि.सं. २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत जोडेर कला बनाएका छन् । ‘दिक्क लाग्ने आवाज’ शीर्षकमा लामाले नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत अभिव्यक्त गरेका छन् ।
डिसेम्बर १३ देखि २२ सम्म गोवामा भइरहेको सो फेस्टिबल नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि महत्वपूर्ण हुने लामाले बताए । उनले डिजिटल प्रविधि प्रयोग गरी कलाकृति बनाएका छन् ।
त्यस्तै किशोर कायस्थले काठमाडौं उपत्यकाको संस्कृति तथा पुरातात्विक सम्पदालाई डिजिटल माध्यमद्धारालाई प्रस्तुत गरेका छन् । उनले भूकम्प अघिको काठमाडौं उपत्यकाका र त्यसपछिको उपत्यकाको अवस्थालाई तुलना गर्दै २० मिनेटका कलात्मक वृत्तचित्र बनाएका छन् । उनले उच्चस्तरको संगीत र आवाजलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । कायस्थले आफ्ना कलाका बारेमा भन्छन्, ‘नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँ ।’
कलाकार मेखबहादुर लिम्बुले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थतालाई कलात्मक रुपमा पस्केका छन् । बाबु र छोराको अवस्थालाई उनले आर्थिक र सामाजिक रुपमा जोडेर कलाकृति तयार पारेका छन् । सो प्रदर्शनीमा नेपाली कलाकारलाई सहभागिताको लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको छ । नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान ग्यालरीले विगत ३० वर्षदेखि काम गरिरहेको ग्यालरीका निर्देशक संगीता थापाले बताइन् ।