रहेनन् पहिलो चलचित्र अवार्डका आयोजक भरतलाल
screennepal
प्रकाशित: २०७२, ५ फाल्गुन बुधबार
no img

काठमाडौं । नेपालमै पहिलोपटक चलचित्र अवार्ड आयोजना गर्ने कला तथा चलचित्रप्रेमी एवं वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको ७४ वर्षको उमेरमा राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । विसं १९९८ को बैशाख १३ गते जन्मिका उनी करिब ५० वर्ष अघिदेखि समाजसेवामा समर्पित थिए । उनको निधन सोमबार साँझ भएको थियो ।

3
उनको निधनसँगै राष्ट्रिय दैनिक नेपाल समाचारपत्र तथा कामना सिने मासिक र साधना स्वास्थ्य मासिकका प्रधानसम्पादक एवं मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई पितृ शोक परेको छ । भरतलाल, पुष्करलालका पिता हुन् । लायन्स क्लबका पूर्वडिष्ट्रिक्ट गभर्नर रहिसकेका स्व. श्रेष्ठले लायन्स क्लब अफ विशाल बजारको अध्यक्ष रहँदा त्यस सँस्थाबाट २०४५ सालमा शवना आजमीलगायत बलिउडका लोकप्रिय कलाकारहरुलाई समेत निम्त्याई नेपालकै पहिलो फिल्म अवार्ड कार्यक्रम आयोजना गरेर चलचित्र क्षेत्रलाई गुण लगाएका थिए । उनले भव्यताका साथ पहिलोपटक फिल्म अवार्डको कार्यक्रम गरेपश्चातमात्र नेपालमा पनि यसप्रकारको कार्यक्रम गर्न सकिंदो रहेछ भन्ने महसुश गरिएको थियो । तत्पश्चातमात्र फिल्म अवार्डका कार्यक्रम हुन थालेका थिए ।
७४ वर्षको उमेरमा समेत सामाजिक कार्यमा उत्तिकै फुर्तिका साथ सक्रिय उनी स्यस्यः समाजका संस्थापक अध्यक्ष, विशाल बजार व्यापार संघ तथा लायन्स क्लब अफ बिशाल बजारका बरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्षका नाताले क्रियाशिल रहँदै आएका थिए । उनले डेनमार्क लायन्स क्लबको सहयोगमा लायन्स क्लब अफ बिशाल बजार मार्फत् दुई वटा शव वाहन र तीन वटा एम्बुलेन्स जुटाउनको लागि उल्लेख्य योगदान पु¥याएका थिए । गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट पीडितहरुका लागि डेनमार्क लायन्स क्लबबाट सहयोग जुटाई भूकम्पपीडितहरुका लागि लाखौं रुपियाँ नगद र जिन्सी राहत उपलब्ध गराई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले समाजसेवामा उल्लेखनीय काम गरेवापत डेनमार्क सरकारबाट उच्च सम्मान र नेपाल सरकारबाट गोरखा दक्षिणबाहु लगायत दर्जनौं उच्च सम्मान तथा पदकहरु प्राप्त गरेका थिए ।
उनी त्रिभुवन आदर्श बहुमुखी उच्च माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष रहनुका साथै विशाल बजार कम्पनीका पूर्व अध्यक्ष, लायन्स क्लब अफ बिशाल बजार तथा बिशाल बजार व्यापार संघका संस्थापक अध्यक्ष, नेपाल हस्तकला उद्योग महासंघका संस्थापक तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अवैतनिक महासचिव समेत रहिसकेका थिए ।
उनले विभिन्न अन्तर्राष्ट्रिय औद्योगिक सम्मेलनमा भाग लिनुका साथै उद्योगपतिहरुको प्रतिनिधिमण्डलका महत्वपूर्ण सदस्यका रुपमा युरोपियन युनियनको निमन्त्रणामा युरोप लगायत दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका थिए । उनको सोमबार राती नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनका श्रीमति जमुना श्रेष्ठ तथा प्रधानसम्पादक श्रेष्ठ सहित ३ छोरा र ३ छोरी छन् ।

Comments