यो हो धुर्मुस–सुन्तलीले बनाएको एकीकृत बस्ती
screennepal
प्रकाशित: २०७२, २८ श्रावण बिहीबार
no img

काठमाडौं । करिब दुई महिना मिहिनेत गरेर हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को टोलीले काभ्रेको काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक बनाएको नमूना एकिकृत बस्ती स्थानीय प्रहरी समुदायलाई हस्तान्तरण गरिएको छ । यो कलाकार जोडीसँगै मेरी बास्सै, भद्रगोल र सगुन डटकमको सहकार्यमा निर्मित २० घरको चाबी सहरी विकास मन्त्री डा. नारायण खड्काले परिवारका मूलीलाई प्रदान हस्तान्तरण गरेका थिए । भूकम्प पीडितले नमूना बस्तीमा घर पाएपछि दंग भएका छन् ।

DSCF0007
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि पहरी समुदायका अधिकांशको घर ध्वस्त भएको थियो । मन्त्री डा. खड्काले सरकारले एकीकृत वस्ती विकासको लागि योजना बनाईरहँदा कलाकारहरुले निर्माण गरेको एकीकृत बस्तीको कामले फाइदा पुगेको बताए । ‘भूकम्प पीडितहरुका लागि सरकारले एकीकृत वस्ती बनाउनका लागि दीर्घकालिन आवासीय योजना बनाइरहँदा उहाँहरुको यो पुण्य कामले नीति निर्माणमा नयाँ सोच र आयाम थपिदिएको छ,’उनले भने,‘अब सरकारले अन्य क्षेत्रमा पनि यस्तै किसिमको बस्ती बसाउनका लागि यहाँको कामलाई उदाहरणको रुपमा लिएर अघि बढ्नेछ ।’
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले कलाकारमा केवल कलाकारिता नभई मानवीय संवेदनाको एउटा रुप समेत हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरेको बताए । ‘उहाँहरुको कामले देश खुशी भएको छ र कलाकारको इज्जत बढाइदिएको छ, उमेरले हामी जेठो भए पनि कामको हिसाबले उहाँहरु जेठो हुनुभएको छ,’उनले भने,‘मलाई लाग्छ सरकारले भूकम्प पछि पुननिर्माणका लागि बनाउन लागेको प्राधिकरणमा धुर्मुस सुन्तलीलाई नै प्रमुख बनाइएमा मुलुकका अन्य स्थानमा यस्ता नमुना बस्ती बन्न सक्नेछन् ।’

DSCF0036
अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आम मान्छेहरु सामाजिक काममा ध्यान नदिईरहँदा धुर्मुस सुन्तलीको कामले सबैलाई चेतना दिएको दाबी गरे । ‘सामाजिक काम गर्न निकै आनन्द आउँछ, मलाई लाग्छ अहिले धुर्मुस र सुन्तली त्यही आनन्दको अनुभुति गरिरहेका छन्,’श्रेष्ठले भने,‘उनीहरुले कलाकारको नाक राखिदिए, हामी पनि यसमा आफै आनन्दित भईरहेका छौं ।’
कार्यक्रममा धुर्मुसले भूकम्प पछि अमेरिकाको कार्यक्रमलाई रद्ध गरेर नेपाल फर्किएपछिको अवस्थाको स्मरण गर्दै विभिन्न ठाउँको खोजी पछि पहरी बस्तीमा आईपुगेको बताए । ‘भूकम्प गएपछि राहत बाँड्नका लागि गाउँ गाउँ जाँदा राहतले मात्र केही नहुने भएपछि घर बनाउने सोच आएको थियो, धादिङ र गोरखामा गएर घर बनाउनका लागि स्थान खोज्दा उपयुक्र्त नभेटिएपछि यो ठाउँमा आयौं,’केही भावुक मुद्रामा देखिएका उनले भने,‘लगातार झण्डै ७५ दिन बारीको पाटामा सुत्दै घर बनाएर अहिले समुदायलाई जिम्मा दिँदाको खुशीको म वर्णन गर्न सक्दिन, त्यो बेला काम गर्दाको झै झमेलादेखि अनेक समस्याबाट अहिले मुक्त भएको अनुभुति लिईरहेको छु ।’
सुन्तलीले घर बनाउनका लागि स्थानीय समुदायको सहयोगदेखि अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आफुहरु सदैव कृतज्ञ भईरहने बताईन् । ‘हामीले मात्र यो सबै काम पुरा गरेका होईनौं, यो कामका लागि समाजका विभिन्न क्षेत्रदेखि विदेशमा रहेका नेपालीहरुले गरेको सहयोग हामी भुल्ने छैनौं ।’ उनले भनिन् । सगुन डटकमका तर्फबाट माधव चम्लागाईले शुरुका दिनमा ठाउँ छनौंटदेखि स्थानीयहलाई मनाउन, सरकारी तथा अन्य कतिपय प्रक्रिया मिलाउन गरेको मेहनत र अहिलेको अवस्थामा आएर एकीकृत बस्ती पूर्ण रुपमा गराउनु आफैमा ऐतिहासिक भएको बताए । उनले सगुन डटकमले जस्तापाता, कामदार खर्च, गाडी भाडा खर्च, इन्धन, खाद्यान्न, औजार, बसोबासका सामाग्री, डोजरदेखि राहत वितरणमा सहयोग गरेको जानकारी दिए । सगुन डटकमै अखिल सिटौलाले भूकम्प गएदेखि नै आफुहरु धुर्मुस र सुन्तलीको टोलीसँग राहत बाड्नदेखि अन्य काममा सक्रिय रहेको जनाउँदै विद्यालय भवन निर्माणदेखि वस्ती निर्माणको काममा सहकार्य गरेको बताए । कार्यक्रममा वस्ती निर्माणमा जनश्रमदानदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
त्यहाँ बनेका प्रत्येक घरमा तीन वटा कोठा र एक ट्वाइलेट बाथरुम छ भने सबै घरमा डिस जोडिएको छ । प्रत्येक घरको अगाडि एक–एकवटा धारा जडान गरिएका छन् भने ट्वाइलेटको मलमूत्रलाई सिधै्र बायोग्यासमा जोडेर ग्याँस उत्पादन गरिएको छ । त्यहाँ घुम्न आउने पाहुनाका लागि पाहुना घरको समेत निर्माण गरिएको छ । नेपाल सरकारबाट सरसफाई सद्भाव दुत घोषित भएका धुर्मुस र सुन्तलीले बस्ती भित्र कसैले पनि गाईबस्तु बाँध्न नपाउने बताए ।

Comments