ज्याकीको काठमाडौं ‘१२ घन्टे ट्रान्जिट’ !
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img

काठमाडौं । जतिबेला फिल्म ‘द कराँते किड’ रिलिज भयो, त्यतिखेर उक्त फिल्म नहेर्ने कमै नेपाली दर्शक थिए । हुन त अहिले पनि ‘द कराँते कराँते किड’ उत्ति नै लोकप्रिय छ । यो फिल्म सन् २०१० को जुनमा रिलिज भएको थियो । यस फिल्मको रिलिजसँगै अभिनेता ज्याकी चाङले नयाँपुस्ता दर्शकमाझ एक किसिमको ‘रियल एक्शन’ हिरोको छाप बसाल्न सफल भए । तिनै हलिउडका सुपर स्टार तथा एक्शन हिरो ज्याकी चाङ मंगलबार बिहान अचानक काठमाडौं ओर्लिए । चाइनाबाट भूकम्प पीडितका लागि राहत लिएर आएका उनले काठमाडौंमा करिब १२ घन्टा बिताए । तैपनि ज्याकीलाई आफ्नो अगाडि पाउँदा उनका नेपाली फ्यान चकित परे । ललितपुरका निकेश प्रधानले भने, ‘होइन साँच्चीकै ज्याकी चाङ नै हुन् र ? मलाई त विश्वास नै लागिरहेको छैन ।’ उनले आफू सानैदेखि ज्याकीको फ्यान रहेको बताए ।

jyaky
हल्लाविनै काठमाडौं आएका ज्याकी एयर चाइनाबाट ओर्लिएपछि सिधै ललितपुरतिर हानिएका थिए । त्यहाँ उनले भूकम्पपीडितलाई राहत वितरण सकेपछि आफ्ना टोलीसँगै मंगलबार राति नै ११ बजे हङकङतिर उडे । हतारमै हङकङतिर लागेपछि उनका नेपाली फ्यानले उनको काठमाडौ्र आगमनलाई ‘१२ घन्टे ट्रान्जिट’ का रुपमा लिए । ज्याकी चाङ च्यारिटेबल फाउन्डेसनल’मार्फत रेडक्रस सोसाइटी अफ चाइना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ज्याकी नेपाल आएका हुन् । रेडक्रसमार्फत भूकम्प पीडितलाई सहयोग गर्न आइपुगेका ज्याकीले जावलाखेलस्थित भूकम्प पीडित शिविरमा रहेका अपांगता भएका व्यक्ति र परिवारहरुलाई राहत वितरण गरेका थिए । यसअघि पनि करिब एक लाख सिंगापुर डलर भूकम्पपीडितका लागि सहयोग गरिसकेका ज्याकी मंगलबार बाकसमा ज्याकेट, रुमाल, म्याट र कम्मललगायतका सामाग्री लिएर आएका थिए ।
नेपाल रेडक्रम सोसाइटीका अध्यक्ष सञ्जिव थापाका अनुसार उनका फ्यानको भीडले गर्दा यसअघि तय भएअनुसारका प्रभावित क्षेत्रमा उनलाई लान नसकिएको हो । कालीमाटीस्थित नेपाल रेडक्रस सोसाइटीको अफिसमा पुगेर रेडक्रसका पदाधिकारीहरुसँग भूकम्पबारे छलफल गरेपछि भूकम्पपछिको नेपालको चित्र हेरेपछि ज्याकी भावुक बनेका थिए ।
वैशाख १२ को विनासकारी भूकम्पपछि अभिनेता ज्याकीले नेपाली भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका थिए । उनले थप सहयोग स्वरुप सिंगापुरमा रहेका नेपाल सरकारका प्रतिनिधिसँग सहकार्य गरेर ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनमार्फत राहत नेपाल ल्याएका हुन् । ज्याकीको संसारभर  फ्यान छन् । उनी अभिनीत अभिकांश फिल्म एक्शनप्रधान छन् ।‘ द कराँते किड’, ‘पुलिस स्टोरी’, ‘द स्पाइ नेक्ट डोर’, ‘क्राइम स्टोरी’, ‘रस आवर’, ‘द योङ मास्टर’, ‘ड्राइगन फरइभर’, ‘द प्रोटेक्टर’, ‘द फर्बिटन किङं’, ‘ड्राकंन मास्टर’ र ’द मिथ’ दर्जनौ जस्ता एक्शनप्रधान फिल्ममा काम गरिसकेका ज्याकी भूकम्पपीडतका लागि राहत वितरण गर्न नेपाल आउने सबैभन्दा चर्चित सेलिब्रेटी बनेका छन् ।

Comments