के हो बुद्धचित्त ? बुद्धचित्तबारे डकुमेन्ट्री बन्र्दै 
screennepal
प्रकाशित: २०७२, ५ जेष्ठ मंगलवार
no img

काठमाडौं । पछिल्लो समय बुद्धचित्त मालासम्बन्धी धेरै समाचार बन्न थालेको छ । काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने यो बनस्पतिजन्य दाना बोटमै लुटिएको, किसान जाग्राम बस्नुपरेको, टिपेर काठमाडौंसम्म ल्याउन प्रहरीले सुरक्षा दिनु परेको जस्ता समाचारहरु आइरहेकै छन् । बौद्ध लामाहरुले मालाको रुपमा प्रयोग गर्ने बुद्धचित्त अब डकुमेन्ट्री फिल्ममा समेटिने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले ‘बिड्स अफ मेडिटेशन’ नामक डकुमेन्ट्री निर्माण गरिरहेको हो । अहिले काभ्रेको तिमाल क्षेत्रमा यसको छायांकन चलिरहेको निर्देशक जगत तामाङले जनाए । उनका अनुसार दोस्रो बुद्ध मानिने गुरु पद्मसंभवले आठौं शताब्दीमा आर्शीवाद स्वरुप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको मानिने यो वनस्पतिले अहिले ठुलो अन्तराष्ट्रिय बजार नै लिएको छ । ‘वन मन्त्रालयले काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने भनेर पहिचान गरिसकेको छ’ अर्को निर्देशक उदय लामाले भने, ‘वनस्पतिजन्य नेपाली मौलिक संस्कृति संरक्षण र प्रर्बद्धनको ध्येयसाथ डकुमेन्ट्री निर्माण भइरहेको जगतले दावी गरे ।

buddha chitta2
वनस्पतिविद डा. केआर भट्टराई र उनको समुहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सिस’ नाम दिइएको यो बोटमा स–साना दाना फल्छन् । डकुमेन्ट्रीमा भने बुद्धचित्तको बोट रोप्ने, फूल फुल्ने, फल्ने, टिप्नेदेखि माला बन्ने प्रक्रियासम्म समेटिने जगतले जनाए । स्थानिय भाषामा ‘फ्रेङबा’, ‘तेरमाला’ र ‘ठेङमाला’ समेत भनिने बुद्धचित्तबाट अहिले काभ्रेको तिमालदेखि रामेछापसम्म किसानहरुले बर्षेनी लाखौं आम्दानी गरिरहेका छन् । जगतका अनुसार सयौंबर्षदेखि बौद्ध लामाहरुले यसलाई मालाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्ला बर्षहरुमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढेपछि सुन भन्दा मंहगो बन्न पुगेको हो । ‘वनस्पति विज्ञानले नै नेपालमा मात्रै पाउने भनेर पुष्टि गरेको यो वनस्थिति मुलुकको अमुल्य सम्पदा पनि हो’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्ण कुमार लामाले भने, ‘डकुमेन्ट्रीले यसको महिमा अझ बढाउने आशा छ ।’

Comments