सिंगारपुरमा बसन्तको प्रेमका कुरा
screennepal
प्रकाशित: २०७१, २४ चैत्र मंगलवार
no img

काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरी डेढ वर्षयता निरन्तर विश्व काव्ययात्रामा छन् । नेपाली साहित्यको प्रवद्र्धन तथा विदेशमा छरिएर रहेका नेपालीबीच सम्बन्ध जोड्ने उनको काव्ययात्राको मुख्य उद्देश्य हो । यसैक्रममा उनी गएको शनिबार सिंगापुरमा झुल्किए । सिंगापुरको २८ डिग्री सेल्सियस तापक्रम र मनोरम वातावरण, जहाँ बसन्तले ‘सिभिल सर्भिस सेन्टर’को प्रेक्ष्यालयमा साहित्यप्रेमी दर्शकलाई आफ्ना सिर्जनामार्फत शितलता प्रदान गरे ।

Vishwa Kabya Yatra: Singapore Episode by Basant Chaudhary
दक्षिणपूर्वी एशियाको अत्यन्तै रमणीय सिंगापुर सहरमा कवि बसन्तले आफ्ना प्रेमिल र स्वप्निल सिर्जना पस्कँदा वातावरण अझ मनमोहक बन्यो । स्थानीय समयअनुसार साँझ ६ बजे उनी मञ्चमा झुल्किएका थिए । त्यो मनोरम साहित्यिक जमघटको अवसर भने सिंगापुरस्थित नेपाली सोसाइटीले जुराएको थियो ।
सोसाइटीका अध्यक्ष किशोर पन्तले कवि तथा गीतकार बसन्त चौधरीको बहुआयामिक व्यक्तित्वबाट आफू ज्यादै प्रभावित भएको बताए । उनले भने, ‘बसन्तबाट प्रवासमा रहेका नेपालीले धेरै कुरा सिक्न सक्नेछन् ।’ कार्यक्रमको एक प्रत्यक्षदर्शीले भने, ‘कवि बसन्तका प्रेमरसयुक्त रचनाको रसास्वादन गर्दा दर्शक–दीर्धाले आफै प्रेममा चुर्लुम्म डुबेको अनुभव गरेका थिए ।’ सोसाइटीका अर्का पदाधिकारी कृष्ण पौडेलले बसन्तको साहित्यिक तथा सामाजिक व्यक्तित्व एवं कृतित्वबारे चर्चा गरेका थिए । स्थानीय कलाकारको सहभागितामा चौधरीद्वारा रचित गीतहरूको प्रत्यक्ष प्रस्तुतीसमेत गरिएको थियो ।
कविता वाचनकै क्रममा कवि बसन्तले प्रेममा डुबे र, प्रेमको ब्याख्या यसरी गरे, ‘प्रेम एउटा यस्तो अनुभूति हो, एउटा आश्वासन, जो सुस्तरी सुस्तरी मुटुमा अवतरण गर्दै, मुक्त बादल भैंm विचरण गर्दै कवितामा परिणत हुन्छ । मेरो दृष्टिमा सृष्टि प्रेममय छ र मनुष्य प्रेमबिना बाँच्न सक्दैन्, प्रेमको यो भन्दा ठूलो परिभाषा मैले जानेको छैन् ।’ अन्त्यमा बसन्तले आफ्नो विश्व काव्यायात्राबारे स्पष्ट पार्दै भने, ‘कविताको माध्यमले विश्वभरी रहेका नेपालीबीच माया र सकारात्मकता बाँच्ने र साँच्ने काम गरौं भन्ने मेरो काव्ययात्राको उद्देश्य हो ।’

Comments