अष्ट्रेलियाली फिल्म निर्मातालाई ६ वर्ष जेल सजाय
screennepal
प्रकाशित: २०७५, १५ भाद्र शुक्रबार
no img

अष्ट्रेलियालका एकजना फिल्म निर्मातालाई क्याम्बोडियाविरुद्ध जासुसी गरेको भन्दै ६ वर्षको जेल सजाय तोकिएको छ । फिल्म निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले ६ वर्ष जेल सजाय सुनाएको ह्युमन राइट्स वाचले भने हास्यास्पद भनी टिप्पणी गरेको छ ।
उनलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको आरोपमा जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।
यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो । गत वर्षको जुनदेखि थुनामा राखिएको उनको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । ६ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो ।
फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ । उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् ।
अदालतमा सुनुवाई भइरहेकै बेला उनले चर्काे स्वरमा भनेका थिए, ‘विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ ? फिल्म निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने बताएका छन् । ६९ वर्षका रिक्सटनले फैसला सुनाइएपछि आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

Comments