केटी साथीसँग हिँड्दा ‘प्ले ब्वाई’ भन्लान् भन्ने डर– अनमोल केसी
screennepal
प्रकाशित: २०७१, १७ मंसिर बुधबार
no img
anmol-791x1024

अनमोल केसी

तपाईंका दुइटै फिल्म चले । कस्तो महसुस हुन्छ ?
अब म निकै होसियार हुनुपर्छ जस्तो लाग्छ । मप्रतिको मान्छेको ‘एक्स्पेक्टेसन’ बढिसक्यो । त्यो ‘एक्स्पेक्टेसन’ पूरा गर्नैपर्ने चुनौती थपिएको छ । त्यसकारण मैले अब छानेर फिल्म खेल्नुपर्छ भन्ने लाग्छ । हुन त यो काम मैले ‘होस्टेल’ फिल्म खेलेदेखि नै लागू गरिसकेको छु । ‘होस्टेल’ चलेपछि मलाई धेरै प्रस्ताव आए । १६ वटा फिल्म ‘रिजेक्ट’ नै गरेँ । अहिले ‘जेरी’ले राम्रो गरिहेको छ । त्यसकारण ‘अब म झन् धेरै चुजी हुनुपर्छ’ भन्ने महसुस हुन्छ ।
के आधारमा फिल्म छान्नुहुन्छ ?
ब्यानर हेर्छु । टिम हेर्छु । फिल्ममा राखिने गीतसंगीत र आफ्नो पात्रबारे बुझ्छु । यी सबै कुरा चित्त बुझे फिल्म गर्छु, नत्र गर्दिनँ । आफूले अभिनय गर्नुपर्ने पात्रप्रति मलाई धेरै चासो हुन्छ । ऐनामा हेर्दै उसको अभिनय गर्छु ।
एउटै टिमसँग काम गरिरहनुभएको छ । यस्तो किन ?
हेमराज (बीसी) दाइसँग मैले तेस्रो फिल्म, ‘ग्याङस्टर ब्लू’ मा पनि काम गर्ने टुंगो भइसकेको छ । यो फिल्म चल्यो भने हाम्रो टिमको ‘ह्याट्रिक’ हुनेछ । उहाँसँग काम गर्दा मलाई सहज महसुस हुन्छ । उहाँले जति अरू कसैले पनि मलाई ‘प्रिजेन्ट’ गर्न सक्दैन जस्तो लाग्छ । फेरि, हामी दुवैजना ‘योङ’ छौँ । एकअर्काका कुरा बुझ्छौँ । नयाँ तरिकाले काम गर्न रुचाउँछौँ । यसो गर्दा नयाँ ‘भाइब क्रिएट’ हुन्छ । धेरै समय सहकार्य ग¥यौँ । अब त भावनात्मक सम्बन्ध नै गाँसिइसक्यो ।
लगातार एउटै प्रकृतिको पात्रको रूपमा देखिइरहनुभएको छ । यो चाहिँ किन ?
अहिले मलाई दर्शकले ‘लभर ब्वाई’, ‘चकलेटी हिरो’ का रूपमा रुचाइरहनुभएको छ । त्यसकारण यही ‘इमेज’ लाई निरन्तरता दिइरहेको छु । मेरो यो ‘योङस्टर लुक’ लाई उपयोग गर्ने बेला यही हो । अहिले गरिनँ भने यी चिज ‘मिस्ड’ हुन्छन् पछि । त्यसकारण युवा, त्यसमा पनि ‘टिन एजर’ पात्रलाई जोड दिएको हुँ ।
फिल्म हेरेरमात्रै पनि अभिनय सिक्न सम्भव छ ?
हेरेर मनमा लिन सक्यो भने सम्भव छ । म फिल्मका पात्रलाई मनमा लिन सक्छु । उनीहरूले धेरै ‘ह्याङ’ पनि गराउँछन् मलाई । कतिपय फिल्म हेरेर खूब रोएको छु । अरूको के कुरा गर्नु, म आफ्नै फिल्म, ‘जेरी’ हेरेर त रोएँ । पात्रमात्रै होइन, फिल्मका प्राविधिक कुरालाई पनि ख्याल गर्छु । ध्वनि, सिनेमाटोग्राफी आदिका विविधता औँल्याउन खोज्छु ।
बुबाका गुण कत्तिको सरेका छन् तपाईंमा ?
हाम्रा आनीबानी पटक्कै मिल्दैनन् । सोच पनि मिल्दैन । तर, चालढाल चाहिँ उस्तै छन् ।
लवाइमा ‘कलर कम्बिनेसन’ गर्ने तरिका पनि मिल्छ क्यारे…
‘वारड्रोब’बारे चाहिँ उहाँले नै सिकाउनुभएको हो मलाई । कालो रङका लुगा उहाँले धेरै लगाउनुभयो । म पनि प्रायः कालै रङका कपडा किन्छु । जहिले, जहाँ पनि ‘सुट’ हुने भएकाले कालोलाई प्राथमिकता दिएका हौँ ।
तपाईंजस्तो ‘रिजभ्र्ड’ मान्छेलाई कत्तिको अप्ठ्यारो हुन्छ यो क्षेत्रमा ?
म जोसँग पनि मिल्न सक्दिनँ । तर, यो क्षेत्रमा नचिनेकासँग पनि चिनेजस्तो गरी घुलमिल भइदिनुपर्छ । आफूलाई मन नपर्ने मान्छेलाई पनि ‘हाई÷हेलो’ गर्दिनुपर्छ । बोलेन भने ‘ठूलो पल्टेको’ भनिहाल्छन् ! त्यसैले, भित्रभित्र दुश्मनजस्तो लागे पनि बाहिर चाहिँ मुस्कुराइदिनुपर्छ । फिल्मकर्मीबीच एकता कायम राख्न पनि यो सब नाटक गर्नैपर्छ । यस्ता कुरालाई सामान्य रूपमा लिन्छु म ।
अग्रज कलाकारको छोरो हुँदाका बेफाइदा केही छन् ?
लगातार हिट फिल्म दिनुपर्ने बाध्यता आइलाग्दो रै’छ । राम्रो गरुञ्जेल ‘बाउको बिँडो थाम्ने भयो’ भन्छन् । तर, एउटा फिल्म ‘फ्लप’ हुनासाथ ‘बाउजत्तिको चाहिँ गर्न सक्दैन रै’छ’ भन्न थाल्छन् । त्यसैले ड्याड नै मेरा लागि ठूलो ‘कम्पिटिटर’ बनिदिनुहुन्छ । तर, फाइदा पनि छन् । भुवन केसीको छोरो भएकाले जहाँ जाँदा पनि सबैले आदर गर्छन् मलाई । रेस्टुरेन्टतिर पनि ‘स्पेसल ट्रिट’ गर्छन् । खुशी लाग्छ ।
तपाईंको अनुहारको धेरैले तारिफ गर्छन् । केटीहरूले खूब पछ्याउँदा हुन्…
म प्रायः खुलेआम हिँड्दिनँ । फ्यानसँग पनि त्यति भेट्दिनँ । तर, फेसबुकमा टन्नै ‘आई लभ यू’ आउँछन् । ‘जेरी’ हलमा लागेपछि त १२ हजार साथी थपिए मेरा । ‘एप्रोच’ गर्नेहरू बढे । तर, मैले सबैलाई ‘धन्यवाद’ भन्दिने गरेको छु । यहाँ ‘को–एक्टे«स’ वा कोही केटी साथीसँग हिँड्दा त ‘प्ले ब्वाई’ भन्लान् भन्ने डर हुन्छ । जोसँग पनि हिँड्न थाल्यो भने के होला ? मलाई आजसम्म मिडियाले ‘कन्ट्रोभर्सियल केस’ मा समातेको छैन । यो क्षेत्रमा जहिले पनि बचेर हिँड्नुपर्छ । साथी (गर्लफ्रेन्ड होइन) सँग भेट्दा पनि लुकेर भेट्नुपर्छ ।
तपाईंको बुबा बिन्दास पाराको हुनुहुन्थ्यो । तपार्ईं चाहिँ उहाँको विपरीत हुनुहुँदो रहेछ ।
बुबाको गल्तीबाट सिक्नु पनि पर्छ मैले । उहाँका राम्रा बानीलाई आत्मसात् गर्नुपर्छ । तर, अहिले यो स्टेजमा म गर्लफ्रेन्ड–सर्लफ्रेन्ड कसैको चक्करमा छैन । गर्लफ्रेन्ड बनाउने इच्छा पनि छैन । अहिले आफैँलाई बनाउनुपर्छ मैले । गर्लफ्रेन्ड बनायो भने धेरै चिजमा रोकावट हुन्छ । मलाई यतिबेला खुलेर हिँड्न मन छ । पहिले–पहिले स्कुलमा छँदा चाहिँ गर्लफ्रेन्डहरू थिए । तर, ती बच्चा–लभ थिए । ब्रेक–अप भयो, सकियो । तिनले एउटा कुरा चाहिँ बुझाए– मायाप्रेमको जिन्दगी एकदम तनावपूर्ण हुन्छ ।

Comments