‘मन भए तीज पर्खनु पर्दैन’
screennepal
प्रकाशित: २०७६, ५ भाद्र बिहीबार
no img

पछिल्लो समयकी व्यस्त गायिका सहिमा श्रेष्ठ केही दिनअघि जमलको मायालु सेन्टरस्थित ‘शिल्क फेसन’मा भेटिइन् । गायनमा चर्चा बटुलेसँगै आफूलाई ‘फेसन कन्सस’ बनाउँदै गएकी सहिमाले जहाँ तीज जोड लुगा खरिद गरेको सुनाइन् । ‘भोलि सांगीतिक टुरमा युरोप जाँँदैछु, त्यसैका लागि यी लुगा लिएकी हुँ’ सहिमाले लुगा देखाउँदै भनिन्, ‘तीजको कार्यक्रम हो, त्यसैले यी गाउन, सारी र लेहेँगा लिएकी हुँ ।’ सहिमा पाश्र्वगायनमा जति चर्चित छिन्, त्यति नै तीज गीतमा पनि । यसपाली बजारमा आएका तीज लक्षित गीतमध्ये सहिमाको ‘हर हर महादेव’ दर्शक/श्रोताले अत्याधिक रुचाएका छन् । यसैबेला नेपालको सबै कार्यक्रम त्यागेर एक महिने ‘सांगीतिक युरोप टुर’मा निस्किएकी सहिमाले भनिन्, ‘यसपटक युरोपका ३३ मुलुकमध्ये २५ देशमा सांगीतिक कार्यक्रम गर्ने योजना छ ।’ ‘सहिमा’, ‘शृँगार’, ‘स्वर्ग’लगायत पाँच सोलो एल्बमकी गायिका सहिमा एक कुसल नृत्यांगना पनि हुन् । यिनै ‘भर्सटायल गायिका’ सहिमा श्रेष्ठसँग गरिएको कुराकानी


यहाँ केका लागि आउनुभएको हो ?
– लुगा लिन आएकी हुँ । भोलि तीजको कार्यक्रमका लागि युरोप जाँदैछु । अस्ति नै अर्डर गरेकी थिएँ, त्यसैले आज लिनमात्र आएकी हुँ ।
कस्तो लुगा किन्नुभयो ?
– अब कस्तो भन्ने र । तीजको कार्यक्रममा जाँदैछु । सारी, लेहेँगा र गाउन लिएकी छु । अरुबेला पनि प्रायः गाउन र लेहेँगा नै लगाउँछु । तर, तीजको कार्यक्रम परेकाले सारी पनि लिएकी हुँ ।
तपाइँ पहिलेभन्दा ‘फेसन कन्सस’ हुनुुभएको हो ?
– समयअनुसार हुनुप-यो नि । अहिले सर्वसाधारण जो–कोही त फेसनेवल भइसकेको अवस्थामा म त गायिका हुँ । स्टेजमा चढ्दा दर्शकको पहिले इम्प्रेस पर्ने पनि लुगामै हो । त्यसैले लुगामा ध्यान दिन थालेकी छु ।
‘युरोप टुर’ कति दिनका लागि ?
– यसपटक अलि लामै छ । एक महिनाका लागि जान लागेकी हुँ । नेपालको सबै कार्यक्रम रिजेक्ट गरेर युरोप जाँदैछ । यो मेरो दोस्रो युरोप टुर हो । पहिलोपटक सन् २०१६ मा तीन वटा देशमा मात्र कार्यक्रम गर्न भ्याएँ । यसपटक चाहिँ युरोपका आधाभन्दा बढी देशमा कार्यक्रम गर्ने योजना छ ।
तपाइँ गीत ‘हर हर महादेव’ चर्चामा छ । कहिलेबाट तीज गीत गाउन थाल्नुभएको हो ?
– सात वर्ष भयो । सुरुमा तीज गीत गाउने सोचै थिएन । तर, जहिले तीजको समयमा कार्यक्रमहरुबाट अफर आउने भएकाले तीज गीत गाउन थालेकी हुँ । अहिलेसम्म ८ वटा तीज गीत गाएकी छु । तर, यसपटक गाएको तीज गीत सबैले रुचाए । खुसी लागेको छ ।
पाश्र्वगायिकाका रुपमा चर्चित हुनुहुन्छ । तर, तीज गीत पनि फाप्यो है ?
– फाप्यो नै भन्नुपर्ला । तीज गीत गाउनकै लागि युरोप जाँदैछु । तर, म स्पेशल्ली पाश्र्वगायिका नै हुँ ।
तीजमा व्रत बस्ने, नाच्ने कतिको गर्नुहुन्छ ?
– व्रत त बस्दिनँ, नाँच्नचाहिँ खुबै नाचिन्छु । गायनमा लाग्नुअघिबाटै नाच्थेँ म । गायनबाहेक नृत्य गर्नु मेरो सौख हो ।
मोडलिङ पनि गर्नुहुन्छ होइन त ?
– मोडलिङ मेरो सौखमात्र हो । अहिलेसम्म जति मोडलिङ गरेँ, अब गर्दिनँ किनकि, मोडलिङ गर्ने सौख र रहर पूरा भयो ।
कुसल नृत्यांगना भएकाले कुनै फिल्ममा ‘आइटम डान्स’को लागि अफर आयो भने के गर्नुहुन्छ ?
– रिजेक्ट गर्छु । नृत्य मेरो पेसा होइन । आइटम गीत गाउनका लागि अफर आयो भनेचाहिँ नाइँ भन्दिनँ । यसअघि पनि थुप्रै आइटम गीत गाइसकेकी छु ।
महादेव पुकार्दै ‘यसपाली त केही होला’ भन्नुभएको छ । गीतको भाव तपाइँसँग कतिको मेल खान्छ ?
– ठ्याक्कै त नभनौँ, अलि अलि खान्छ । तर, उक्त गीतले आम अविवाहित नेपाली नारीको भावना उदृत गर्छ ।
त्यसोभए तीजपछि ‘केही होला’ भन्ने अपेक्षा गर्नुभएको छ ?
– त्यस्तो खाशै अपेक्षा गरेकी छैन । मन भए तीजै पर्खनुपर्छ भन्ने छैन । समय आउनुपर्छ, सबै कुरा मिल्दै जान्छ ।
पाश्र्वगायन र कार्यक्रममै व्यस्त हुनुहुन्छ । तत्काल एल्बम ल्याउने सोच छैन ?
– आफ्नो एल्बमका लागि पनि काम गर्दैछु । अब धमाधम आउँछ । यो तीजको भालिपल्ट नै ‘तिम्रो सहर’ बोलको गीत रिलिज हुँदैछ । उक्त गीत मेरो सोलो एल्बम ‘अमर भावना’को हो । एल्बम पनि चाँडै रिलिज गर्ने सोच छ ।

(सहिमाको यो अन्र्तवार्ता दृष्टि साप्ताहिकबाट लिइएको हो )

Comments