काठमाडौं, २७ चैत । ‘मिस मंगोल नेपाल’ अब नयाँशैली र ढाँचामा आयोजना हुने भएको छ । सन् २००९ देखि सुरु भएको यो प्रतियोगिताको आठौं संस्करण पूरा भइसकेको छ भने अहिले नवौं, दसौं र एघारौं संस्करणको एकसाथ तयारी सुरु गरिएको छ । आयोजक संस्था एक्शन इन्टरटेनमेन्टका अनुसार सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुनेछ । यो कुरा आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आयोजकका अनुसार मिस मंगोल आयोजना भएको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको हो । दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुनेछ । प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिन लागेको हो । मिस मंगोलका यी संस्करणले नेपाली सौन्दर्य प्रतियागिताको खस्कँदो क्रेजलाई उचाइ दिने विश्वास गरिएको छ । मिस मंगोल यस्तो प्रतियोगिता हो यसमा डाक्टर, पाइलट, इन्जिनियर, मोडेल, एअर होस्टेज, नर्सलगायत आआफ्नो क्षेत्रमा स्थापित युवतीले भाग लिने गरेका छन् ।
विजेता छनोटमा यसअघि उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइँदै आएको थियो । यसवर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ । यसले प्रतिभावान्, जिम्मेवार र नयाँ दृष्टिकोण बोकेका विजेता छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितामा समावेश गरिकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सिधै उत्कृष्ट १५ मा प्रवेश पाउने छन् ।
आयोजकका अनुसार २०७४ जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने छ । घटीमा एसएलसी पास, पाँच फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल (आदिवासी जनजाति) युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । त्यसैगरी मिस तामाङ, मिस राई, मिस लिम्बू, मिस नेवालगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिना अडिसन सीधै प्रवेश पाउने छन् । त्यसैगरी सबै समुदाय वा क्षेत्रगत रूपमा भएका सौन्दर्य प्रतियोगितामा मंगोलियन युवती विजेता छन् भने उनीहरूले पनि सीधै प्रवेश पाउने छन् । तर मिस मंगोलका लागि तय गरिएका आधार सबैले पूरा गरेको हुनु पर्नेछ ।
अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रतियोगिताका बारेमा एकमहिने प्रशिक्षण प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तित्व विकास एवं करियरसँग सम्बन्धित विभिन्न विषयमा मिस मंगोल नेपालकी सीइओ पूर्वमिस मंगोल सुम्निमा देवानको नेतृत्वमा एक दर्जनभन्दा बढी कक्षाहरू दिइनेछ। प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी, मिस डिस्सिप्लिन, मिस फ्रेन्ड्सिप, मिस लिडरसिप, मिस बेस्ट स्किन, मिस बेस्ट हेयर, मिस फोटोजेनिक, मिस पन्चुअल र प्रिभियस एक्सेलेन्स अवार्ड समावेश गरिएका छन् । मिस मंगोल नेपालका विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ।