तस्बिरहरु : सुनिल राजभण्डारी/स्क्रीन नेपाल
काठमाडौं, २८ माघ । दिन ढल्किँदै गर्दा बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर लिम्बु संस्कृतिमय भयो । जहाँ, लिम्बू समुदायका चर्चित कलाकारमात्र नभइ दर्शकदीर्घासमेत आ–आफ्नै मौलिक भेषभूषामा सजिएका थिए ।
अधिकांश ढाका पहिरनमा सजिएका महिला कलाकारको शिरमा शिरफूल ढल्किएको थियो भने पुरुष कलाकारको गलामा गलबन्दी । सो दृश्यले पुर्वी लिम्बुवानको कुनै मेलाको झल्को दिन्थ्यो । तर, त्यहाँ हुँदैथियो कार्यक्रममा ‘वेश्मा लाङ्योक’ अर्थात् फरक पाइला ।
‘हिलिहाङ हाक्पारे पालाम सयङ’ र राष्ट्रिय नाचघरले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमका लागि भेषभूषाको प्रायोजन द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिक गोकर्णले गरेको थियो ।
कार्यक्रममा उपस्थित कलाकार, बाद्यवादकदेखि दर्शकसम्म द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेका ढाका पहिरनमा थिए । लिम्बू गीतसंगीत र नृत्य मात्र प्रस्तुत गरिएको उक्त कार्यक्रम साँच्चीकै फरक देखिएको थियो ।
संस्कृतिबिद् सत्यमोहन जोशीले च्याब्रुङ बजाएर सुरु गरिएको कार्यक्रममा लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने अग्रज गायक भगत सुब्बालाई सम्मान गरिएको थियो । भगतले लिम्बु गीतको क्षेत्रमा चार दशकभन्दा बढी योगदान गरेवापत सम्मान गरिएको आयोजकले जनाएको छ । यस्तै, लिम्बु भाषाका गायक एवं गीतकार प्राज्ञ अशोक लोहरुङ राईलाई पनि कार्यक्रममा सम्मान गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वी नेपालमा पहिचान लिम्बु संस्कृति रहेको बताए । संस्कृतिको विविधताले नै राष्ट्रियता बलियो हुने बताउँदै जोशीले पूर्वदेखि पश्चिम नेपाल विविध संस्कृतिको धनी भएकाले बिदेशले नेपालीलाई लोकसंगीत र लोक नृत्यको देश भनेर चिन्ने गरेको बताए । संस्कृति संरक्षण र एकतामा यहाँ राजनीतिक पार्टी र नेताहरुले जोड दिए मुलुक बन्न समय नलाग्ने समेत उनले धाराणा सुनाए ।
त्यस्तै, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपाली संस्कृतिको जगेर्ना गर्नु नै संस्थानको उद्देश्य रहेको बताउँदै पूर्वी नेपालको लिम्बु लोकगीत, संगीत तथा नृत्य प्रस्तुतिका लागि आफुहरुले ‘हिलिहाङ हाक्पारे पालाम सयङ’लाई सहयोग गरेको बताए ।
‘हिलिहाङ हाक्पारे पालाम सयङ’ का अध्यक्ष प्रदीप योङहाङले लिम्बु मौलिक गीत, संगीत नृत्यको संरक्षण र प्रवर्धनमा आफुहरुले काम गर्दै आएको जानकारी गराए । लिम्बु संस्कृतिबारे गैरलिम्बुलाई जानकारी गराउन काठमाडौंमा मौलिक लिम्बु संस्कृतिक कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा लिम्बु कलाकार यासेली योङहाङ र बिष्णु सिंगकले लिम्बु संस्कृतिबारे थप प्रकाश पारेका थिए ।
कार्यक्रममा लिम्बु कलाकारहरुले आफ्ना मौलिक लोक गीत र लोक नृत्यबाट दर्शकलाई तीन घन्टासम्म मन्त्रमुग्ध तुल्याए ।
लिम्बु कलाकारहरुले लिम्बु गीत र नृत्यसहित कार्यक्रममा अतिथिलाई स्वागत गरे । सीता सिंगक र साथीहरुले स्वागत गीत आनी केरेक हिलिहाङ…गाउँदा बाँकी कलाकारले नृत्य र गायनमा उनलाई सघाएका थिए । गायिका श्रेयसी चेम्जोङले कार्यक्रममा लिम्बु गीत तागेर ग युमा…गाउँदा दर्शकको निरन्तर तालीले साथ पाइन् ।
त्यसपछि मञ्चमा गायिक सुनिता थेबे आफ्नो गीत केबे आइन्ग…लिएर प्रस्तुत भइन् । कुशल थलङले प्रस्तुत गरेको गीत चेथ्या के आईन्ग…पनि मौलिक र माधुर्य थियो ।
यस्तै, सुसन साम्सोहाङ र सुनिता थेगिमले सो सांगीतिक कार्यक्रममा फुङवान्बा नुमा…गीत सुनाइन् । सोही क्रममा कलाकारले पालाम नृत्य प्रस्तुत गरे ।
सधैंजसो नेपाली गीत गाउने गायक दीपक लिम्बुले कार्यक्रममा लिम्बु गीत मिन्जी मेहानेन् माफ्रेम्बा…गाउँदा दर्शकले ताली र सिठ्ठीले उनलाई साथ दिएका थिए । यो गीतमा दीपकलाई मनु नेम्वाङले स्वरमा साथ दिएकी थिइन् ।
यस्तै, गायक सञ्जय तुम्रुक र मोहन मादेनले सिबन्दी स्योङ स्योङ…गीत सुनाए । यो गीतमा उनीहरुलाई दर्शकले नाचेर साथ दिएका थिए । सञ्जय, देशु, सुसन सहितले प्रस्तुत गरेको गीत छुई पकन्दी…मा मोडल तथा अभिनेत्री निशा पोमु, सुक्मिता केरुङ, रुपा आङबुहाङ, लक्ष्मी योङहाङलगायतका कलाकारले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
गायिका बिष्णु चेम्बजोङले सेप्माङ ओ…गीत सुनाईन । कार्यक्रमका अन्त्यमा सञ्जय, मोहन, दिपा, सुसन, अमृता लिम्बूलगायतले आजुप्से आम्बी…गीत प्रस्तुत गर्दा सम्पूर्ण लिम्बु नृत्य कलाकारहरुले सामुहिक लिम्बु नृत्य प्रस्तुत गरे । उनीहरुलाई दर्शकले सो क्रममा तालीले साथ दिएका थिए ।
कार्यक्रममा अग्रज संगीतकार शिला बहादुर मोक्तानको संयोजकत्वमा गिटार बादक आकाश गोर्खाली लगायत सांस्कृतिक संस्थानका विभिन्न कलाकारले प्रत्यक्ष बादबादनमा साथ दिएका थिए ।