काठमाडौं, २२ भदौं । ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीमा बुधबार (आज) सुरु भएको छ । तीनदिनसम्म चल्ने फेस्टिवलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । फिल्म फेस्टिवलको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘फिल्म आमसञ्चारको एक प्रमुख अंग हो ।’ फिल्म समाजको ऐना भएको बताउँदै उपराष्ट्रपति पुनले सहरभन्दा गाउँघरको कथावस्तुमा फिल्म बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘फिल्म भनेको समाजको ऐना हो । फिल्ममा समाजका कुरा उठाइएको हुन्छ । कथा सहरमा भन्दा गाउँमा धेरै छ । फिल्म गाउँको कथामा बन्नुपर्छ ।’
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’को आयोजनामा भएको फेस्टिवल उद्घाटन समारोहमा उपराष्ट्रपति लगायत सञ्चारमन्त्री सुरेन्द्र कार्की तथा विभिन्न अफ्रिकी मुलुकमा राजदूतहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले नेपाल–अफ्रिका फिल्म फेस्टिवलले अफ्रिकन मुलुकहरुसँग दौत्यसम्बन्ध जोड्न पुलको भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘यस्ता फिल्म फेस्टिवलले नेपाल र अफ्रिकी मुलुकसँग हामीलाई सांस्कृतिक रुपमा जोड्नेछ ।’ उनले नेपाललाई बुद्धको देश र सगरमाथाको देश भनेर अफ्रिकी मुलुकमा पनि चिनाउन आवश्यक रहेको र यस फेस्टिवल यसको माचध्यम हुन सक्ने धाराणा राखेका थिए ।
यसपटक फेस्टिवलमा नेपाललगायत ९ अफ्रिकी फिल्म स्क्रिनिङ हुँदैछ । उद्घाटनको अवसरमा बुधबार डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म ‘लुमुम्बा’ स्क्रिनिङ गरिएको छ । एक घण्टा ४० मिनेटको यस फिल्ममा कंगोको राजनीतिक तथा सांस्कृतिक पहिचानलाई चित्रण गरिएको छ । लुमुम्बा त्यहाँ एक सांस्कृतिक पहिचान हो, जसले गर्दा कंगोलाई लुमुम्बा भनेर पनि चिनिने गरिन्छ ।
महोत्सवको दोश्रो हिबीबार गिनियाको ‘ब्याटल अफ टोबाटो’, बर्किना फासोको ‘तसुना’, साउथ अफ्रिकाको ‘फुल्स’ र डेनमार्कको ‘मिनियाम्बा’ स्क्रिनिङ हुनेछ भने अन्तिमदिन अर्थात् शुक्रबार इजिप्टको ‘डोया एजिजा’ र अल्जेरियाको ‘रचिडा’ र नेपालको ‘मसान’ स्क्रिनिङसँगै फेस्टिवल समापन हुने फेस्टिवलकी निर्देशक डा. मञ्जु मिश्रले बताइन् । फ्ेस्टिवलमा सहभागी अधिकांश फिल्मले अफ्रिकाको भू–राजनीति, जनजीवन, संस्कृति तथा परम्परा चित्रित छन् ।