काठमाडौं, २७ चैत । तामाङ डाजाङको आयोजनामा काठमाडौंमा तामाङ कथा लेखन कलाबारे अन्तक्र्रिया आयोजना भएको छ । शनिबार आरआर क्याम्पसमा आयोजित कार्यक्रममा तामाङ भाषामा कलम चलाउँदै आएका लेखकहरूले तामाङ भाषाको कथा लेखनको वर्तमान अवस्था र कथा लेखन शैलीबारे प्रकाश पारेका थिए ।
तामाङ डाजाङ मासिकका सम्पादक इन्द्र तामाङले तामाङ भाषा र साहित्यको संरक्षण तथा विकास कविता विधाले मात्र नपुग्ने हुँदा अबको दिनमा सबैले तामाङ भाषामा कथा लेखनलाई प्राथामिकता दिनुपर्ने बताए । कार्यक्रममा साहित्यकार मुक्तान थेबा, नेत्र तामाङ, यकिना अगाध र बिना तामाङले कथा लेखनबारे प्रस्ट्याएका थिए ।
मुक्तान थेबाले कुनै पनि कथामा आफ्नो विचारसहित दृष्टिकोण आउनु पर्नेमा जोड दिए भने बाल साहित्यकार नेत्र तामाङले बालबालिकाका लागि तामाङ भाषाका सामग्री कम भएकाले निरन्तर लेख्नुपर्ने बताए ।
त्यसैगरी यकिना अगाधले तामाङ भाषामा सबै साहित्यकारहरुले आजैबाट कथा लेखनको सुरुवात गर्नुपर्ने धारणा राखे । बिना तामाङले कथा लेखनको आफ्नो अनुभव सहित कथामा घटना, परिवेश र पात्रलाई प्राथामिकता दिनुपर्ने बताइन् ।
तामाङ डाजाङको नियमित कार्यक्रम तामाङ ग्योइकाइ गेताङ–१६३ समेत रहेको सोही कार्यक्रममा खोजराज गोले, रेनुका गोले, कबिराज काल्तान, अटुट दोङ, इश्वर थोकर, हिरामाया घिसिङ (कुसुम), बिवेक लोप्चन, रचना मोक्तान, सुनिता तामाङ लामाखोर, अस्मिता घिसिङ लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।
तामाङ भाषामा कविता विधा मात्र सक्रिय रहेको यो अवस्थामा अबका दिनहरुमा कथा लेखन पनि सशक्त बनाउने उदेश्यले प्रशिक्षणात्मक कार्यक्रमको अवश्यक रहेको तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनले बताइन् । कथा लेखन छलफल कार्यक्रम काठमाडौं महानगरपालिकाको सहयोगमा तामाङ डाजाङले आयोजना गरेको हो । छलफलमा सहभागी इच्छुक कथा लेखकहरूले थप कार्यशालामा भाग लिन पाउने आयोजकले जनाएको छ ।