काठमाडौँ | तमू ल्होछार २०७३ को उपलक्ष्यमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) द्धारा बिभिन्न सञ्चारमाध्यममा कार्यरत आठ पत्रकार सम्मानित गरिएको छ ।
एटजोनले पूर्वप्रधानसेनापति छत्रमानंिसंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट ईकान्तिपुर डटकमका संयोजक खिम घले र कान्तिपुर राष्ट्रिय दैनिकका बरिष्ठ उपसम्पादक गणेश राईलाई सम्मानित गरेको छ । पुरस्कारको राशी जनही २० हजार एक रुपैयाँको रहेको छ ।
यस्तै १० हजार एक रुपैयाँ पुरस्कार राशीको तमू आदिकवि हर्कबहादुृर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक शान्ति गुरुङ पुरस्कृत भएकी छिन् । सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट इलाम एफएमका समाचार प्रमुख उमेश गुरुङ र बुटवल एफएमकी कार्यक्रम निर्माता तथा प्रस्तोता उमा गुरुङ सम्मानित भएका छन् । दुबै पुरस्कारको राशी जनही पाँच हजार एक रुपैयाँ रहेको छ ।
यस्तै १० हजार एक रुपैयाँ पुरस्कार राशीको लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कास्की आवाजकी अध्यक्ष सरस्वती गुरुङ सम्मानित भएकी छिन् । यस्तै पाँच हजार एक रुपैयाँ पुरस्कार राशीको सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट पुर्वी चितवन डटकमका सञ्चालक तथा फोटो पत्रकार नेत्र गुरुङ तथा पाँच हजार एक रुपैयाँ राशीकै तमू पत्रकारिता पुरस्कारबाट द हिमालयन टाइम्स दैनिकका फोटो सम्पादक राजेश गुरुङ पुरस्कृत भएका छन् ।
एटजोनका निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा रहेको छनौट समितिको सिफारीसका आधारमा पत्रकारहरु पुरस्कृत भएका हुन् । पुरस्कृत पत्रकारहरुलाई श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ, स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ तथा पुरस्कारका सस्थापकहरुले पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा तमू वर्ष पुस्तक गुरुङ न्युज डटकमको लोकार्पण समेत गरिएको छ । वर्ष पुस्तकमा गुरुङ समुदायबाट पछिल्लो एक वर्षमा विभिन्न क्षेत्र तथा पेसा ब्यवसायमा सफलता हात पारेका व्यक्तिहरुलाई समेटिएको छ । एटजोनले पछिल्लो चार वर्ष यता वर्ष पुस्तकको प्रकाशन तथा पत्रकार सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।