शंकरलाई भेटेपछि रातारात हिट !
screennepal
प्रकाशित: २०७१, २५ चैत्र बुधबार
no img

काठमाडौं । कतिपय युवती फिल्म पाउनलाई मरिहत्ते गर्छन् । तर, रश्मि तामाङ भने हिरोइनको लागि प्रस्ताव आउँदा पनि मतलब राख्दिनन् । ‘हो, म हिरोइन बन्नु छैन । तीन/चार वटा फिल्ममा आएको प्रस्तावसमेत नकारेँ’, पछिल्लो समयकी चर्चित लोकदोहारी मोडल रश्मिले भनिन्, ‘म लोकदोहोरीमै रमाउन चाहन्छु ।’ एक वर्षकै अवधिमा एक सय ८० भन्दा बढी लोकदोहोरी गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रश्मि भन्छिन्, ‘मेरा लागि लोकदोहोरी संसार नै रमाइलो छ ।’

Rashmi tamang
जब लोकदोहोरी क्षेत्रका चर्चित निर्देशक तथा मोडल शंकर बिसीसँग भेट भयो, तब उनी रातारात चम्किन थालेकी हुन् । गत तिजको मौसममा गायिका विनु तामाङको गीतको म्युजिक भिडियो निर्माणका क्रममा शंकर–रश्मिको भेट भएको हो । रश्मिको नृत्य क्षमताले शंकर मख्ख मात्र भएनन्, आफ्नो हरेक गीतमा उनैलाई लिने निर्णय गरे । रश्मिभन्दा अघि शंकर र पावर्ती राईको जोडी जमेको थियो । तर, शंकरको मनमा रश्मि बसेपछि पार्वती आउट भइन् । यो कुरा रश्मि पनि स्वीकार्छिन् । उनी भन्छिन्, ‘मेरो नृत्य क्षमताकै कारण शंकर दाईले मलाई लिनुभएको हो ।’ पार्वती पनि कम्ती क्षमताको नृत्यांगना भने होइन । पार्वतीले पनि सम्झना बुढाथोकीजस्ता नृत्यांगनालाई आउट गर्दै शंकरको पन्जामा आएकी हुन् ।
लोकदोहोरी क्षेत्रमा एउटा भनाइ नै छ, शंकरले चाह्यो कि नृत्यांगना सुपर हिट । रश्मि यसको पछिल्लो उदाहरण हुन् । रश्मिसम्म आइपुग्दा शंकरको तीन कालखन्ड बनेको छ । सुरुमा सम्झनालाई जमाएका शंकरले त्यसपछि पार्वतीलाई रातारात हित बनाए । पछिल्लो समय शंकर र रश्मि जमेका छन् । एक वर्षको अवधिमा जति पनि हिट लोकदोहोरी गीत आए, ती सबैको म्युजिक भिडियोमा रश्मि जमेकी छन् । नुवाकोटकी रश्मि भन्छिन्, ‘शंकरसँग भेट्नअघि पनि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी हुँ तर शंकरसँग भेट भएपछि चर्चामा आएँ ।’

Comments