क्रिकेटरसँग पिरती गाँस्ने अभिनेत्री
screennepal
प्रकाशित: २०७१, १९ फाल्गुन मंगलवार
no img
Anushka-Shetty-Virat-Kohli

विराट कोहली र अनुष्का शर्मा

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ ।  क्रिकेटमाथि फिल्म बन्नु र क्रिकेटर फिल्ममा देखिनुमा मात्र बलिउड र क्रिकेटको सम्बन्ध सीमित छैन । स्टार क्रिकेटर र बलिउड अभिनेत्रीले पनि यस सम्बन्धलाई थप बलियो बनाएका छन् ।

बलिउड अभिनेत्रीसँग क्रिकेटरको अफेयरको कुरा नौलो होइन । बलिउडमा क्रिकेटरसँग अफेयर चलाउने अभिनेत्रीको सूची लामै छ । शर्मिला टेगौर, रिना रोयदेखि दीपिका पादुकोण, अनुष्का शर्मासम्म त्यस सूचीमा पर्छन् ।
बलिउडमा ‘हट कपल’का रूपमा प्रख्यात भइरहेको विराट कोहली र अनुष्का शर्माको जोडी अहिले खूब चर्चित छ । रणवीर सिंहसँग ब्रेकअप गरी अनुष्का विराटसँग नजिएकी हुन् । उम्दा खेल प्रतिभाबाट सबैको मन जित्न सफल भएका छन् विराट । तर, उनको मन भने अनुष्काले जितेकी छिन् । प्रेममा परेको यो जोडीको चर्चा बलिउडदेखि क्रिकेट मैदानसम्म हुने गर्छ । आफ्नो सम्बन्धप्रति यी दुवै गम्भीर छन् । विराट र अनुष्का भविष्यमा बिहे गर्ने योजनामा रहेको पनि बलिउडकर्मी बताउँछन् । समय मिल्नासाथ यी दुई दुनियाँलाई बेवास्ता गर्दै एकअर्कालाई भेट्न पुग्छन् । हालै विराट आफ्नी प्रेमिकालाई भेट्न श्रीलंका पुगेका थिए । जहाँ अनुष्का अनुराग कश्यपको फिल्म ‘बम्बे भेल्भेट’ को सुटिङमा थिइन् ।

अहिले श्रीमती साक्षी रावतसँग सुखद वैवाहिक जीवन बिताइरहेका भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको नाम पहिला अभिनेत्री दीपिका पादुकोणसँग जोडिएको थियो । बलिउडमा अहिलेकी सबैभन्दा महँगी अभिनेत्री र ‘कुल क्याप्टन’ को छवि बनाएका धोनीको प्रेमको चर्चा सर्वत्र चल्यो । दुवैले सार्वजनिक रूपमा आफ्नो प्रेम सम्बन्ध स्वीकार नगरे पनि धेरै पार्टीमा यो जोडीलाई सँगै देखिएको थियो । धोनीको निम्तोमा दीपिका ट्वान्टी–ट्वान्टी म्याच हेर्न गएको हल्ला चलेपछि यिनीहरूको सम्बन्धले व्यापक चर्चा पायो । त्यतिबेला दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट सफलतातिर पाइला सार्दै थिइन् । जब कि, धोनी एक सफल कप्तानका रूपमा स्थापित भइसकेका थिए । यसअघि धोनीको नाम प्रियंका चोपडासँग पनि जोडिएको थियो । पछि साक्षीसँग बिहे गरेर धोनीले सबै किसिमका चर्चामा विराम लगाएका थिए ।

धोनीजस्तै दीपिका पादुकोणको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो । युवराजका अफेयर लिस्टमा नेहा धुपिया, किम शर्मा, प्रीति जिन्टालगायत थुप्रै बलिउड सुन्दरी रहेका छन् । सबैभन्दा पहिला युवराजको अफेयर अभिनेत्री किम शर्मासँग चल्यो । भारतमा ‘सिक्सर किङ’ का नामले चिनिने युवराज र किमको अफेयर लामो समयसम्म चल्यो । तर, पछि सिक्सर किङको जीवनमा ‘हट’ दीपिकाले ‘इन्ट्री’ गरेपछि किम र युवराजको सम्बन्ध टुट्यो । पानीको फोका जस्तै दीपिकाको प्रेम प्रसंग पनि केही दिनकै थियो । युवराज आईपीएलको टिम किङ्स इलेभन पञ्जाबका कप्तान हुँदा ताका प्रीति जिन्टासँग नजिएको कुराले सबैको ध्यान तान्यो । क्रिकेट मैदानमा दुवैको प्रेम झाँगिएको हल्लाले चौतर्फी चर्चा बटुल्यो । युवराजको अफेयर लिस्टमा पूर्व मिस इन्डिया नेहा धुपियाको नाम पनि सामेल छ । धेरै पार्टीमा सँगै देखिने यी दुईबीच केही चलिरहेको अड्कलबाजी गरिए पनि आफूहरू साथीमात्र भएको नेहाले बताएकी थिइन् ।

श्रुति हसन र सुरेश रैना परिपक्व प्रेमसम्बन्धमा रहे पनि उनीहरूले आफ्नो सम्बन्धबारे चल्ने सबै हल्लालाई निराधार बताएका छन् । श्रुतिलाई आईपीएलमा रैनाको टिम चेन्नई सुपर किङ्सको खेलका क्रममा ‘चियरअप’ गरिरहेको सबैले देखेका थिए । रैनाका नजिकका मानिसहरूका अनुसार रैना श्रुतिलाई आफ्ना लागि ‘लकी’ ठान्छन् ।

भारतीय क्रिकेटमा ‘बंगाल टाइगर’ भनेर चिनिने टोलीका पूर्व कप्तान सौरभ गांगुली पनि बलिउड सुन्दरीको प्रभावबाट बच्न सकेनन् । गांगुलीको दक्षिण भारतीय अभिनेत्री नगमासँगको प्रेमले पनि खूब चर्चा पायो । नगमाले यो कुरालाई खुला रूपमा स्वीकार गरे पनि सौरभले भने कहिल्यै मुख खोलेनन् । वैवाहिक जीवन टुट्ने लक्षण देखेपछि गांगुली पछि सरे र उनको र नगमाको प्रेमकथा त्यहीँ समाप्त भयो ।

क्रिकेट टोलीका स्पिन बलर हरभजन सिंह र गीता बसराको प्रेम कसैबाट लुकेको छैन । उनीहरूको ब्रेकअप र प्याचअप सबैका लागि सामान्य कुरा भइसकेको छ । एक पार्टीमा भएको भेटघाट र परिचयलाई यी दुईले प्रेममा परिणत गरेका थिए ।

सुभाष घईको फिल्म ‘कृष्णा’बाट बलिउडमा प्रवेश गर्ने अभिनेत्री इशा सरबानीको प्रेममा परे बलर, जहिर खान । बलिउडमा खासै सफलता हासिल गर्न नपाए पनि जहिरको प्रेममा भने उनले सफलता हात पारिन् । आठ वर्षको रिलेसनसिपपछि अचानक यी दुईको प्रेमको चर्चा यसै सेलायो ।

बलिउडका ‘दबंग’ सलमान खानसँग नाम जोडिए पनि जीवन यात्रामा संगीता बिजलानीले क्रिकेट मैदानको बाटो समातिन् । सल्लु मियाँसँग ब्रेकअपपछि उनले क्रिकेटर मोहम्मद अजहरूद्दिनलाई रोजिन् ।

सैफ अली खानकी आमा र अभिनेत्री शर्मिला टेगौरको प्रेमकथा पनि रोचक छ । जमानाकी प्रख्यात अभिनेत्रीलाई मन पराउने लाखौँ थिए । तर, बलिउडका स्टारलाई छोडेर उनले क्रिकेटर नवाब पटौदीसँग बिहे गरिन् ।

सैफ अलीको पहिली श्रीमती अमृता सिंह पनि क्रिकेटर रवि  शास्त्रीकी प्रेमिका थिइन् । ८० को दशकमा करिअरमा सफलता पाइरहेका यी दुईको प्रेम बलिउडका लागि गसिपको विषय बनेको थियो । खुला रूपमा आफ्ना सम्बन्धलाई स्वीकार नगरे पनि शास्त्रीको खेल हेर्न अमृता मैदानसम्म पुग्ने गर्थिन् र ‘चियरअप’ गर्थिन् ।

सन् १९८३ मा भारतलाई विश्व च्याम्पिन बनाउने कपिल देवका पनि मैदान भित्र र बाहिर धेरै किस्सा छन् । सफल क्रिकेटरका रूपमा आफूलाई स्थापित गरेका कपिलको अफेयर त्यतिबेला बलिउडमा ‘सेक्स सिम्बल’ भनेर चिनिने सारिकासँग थियो । पछि कपिलले रोमी भाटियासँग बिहे गरे भने सारिकाले कमल हसनको हात समातिन् ।
आफ्नो समयकी प्रसिद्ध अभिनेत्री रिना रोयको अफेयर पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग थियो । प्रेममा परेकी रिना आफ्नो अभिनय करिअर टुंगाएर मोहसिनसँग बिहे गरी पाकिस्तान लागिन् । तर, उनीहरूको सम्बन्ध लामो समय टिकेन । सम्बन्ध–विच्छेदपछि रिना भारत फर्किइन् ।

Comments