मिस नेसनलको फिल्म खेल्ने इच्छा (रोइलिनसँग अन्तवार्ता)
screennepal
प्रकाशित: २०७१, १ कार्तिक शनिबार
no img

‘मिस नेसनल क्वीन’ को ताज पहिरिएपछि रोइलिन थापाको दिनचर्यामा परिवर्तन भएको छ । म्याग्दी, दरभङकी १९ वर्षीया रोइलिनले केही दिनअघि एभरेस्ट फेसन होमले आयोजना गरेको ‘मिस नेसनल क्वीन–२०१४’ को ताज पहिरिएकी हुन् । ‘ताज जितेपछि मेरो दैनिकीमा परिवर्तन भएको छ’ रोइलिनले भनिन्, ‘मिस नेसनल क्वीन बन्नुभन्दा अघि म सामान्य थिएँ । तर, ताजले सेलिब्रेटी बनाएको छ ।’ साइपल कलेजमा ‘ए’ लेवलमा अध्ययनरत रोइलिनको रुचि मोडलिङ र समाजसेवामा छ । ‘मिस नेपाल’ मा भाग लिएर ‘मिस वल्र्ड’ सम्म पुग्ने उनको लक्ष्य छ । उनले भनिन्, ‘यसपालि त होइन, अर्को वर्षचाहिँ मिस नेपालमा भाग लिनेछु । मेरो लक्ष्य मिस वल्र्डमा पुग्ने हो ।’

roilin thapa

रोइलिन थापा, मिस नेसलन क्वीन–२०१४

मिस नेसनलको ताज जितेपछि के परिवर्तन पाउनुभयो ?
धेरै परिवर्तन पाएकी छु । यस कार्यक्रममा सहभागी हुनुअघिसम्म सामान्य थिएँ, तर मिस नेसनलको उपाधि जितेपछि धेरैले चिन्न थाले । सेलिब्रेटी नै भएकी छु ।
मिस नेसनल क्वीनमा भाग लिने मनशाय कसरी आयो ?
रजनी थापा मेरै कलेजमा आउनुभयो र प्रतियोगिताबारे सुनाउनुभयो । मेरो रुचि मोडलिङमा भएकाले मिस नेसनलमा सहभागी हुन आएकी हुँ । हाम्र्रै कलेजबाट दुईजनाले सहभागी जनाएका थियौं ।
उपाधि नै हात पार्छु भन्ने लागेको थियो ?
जब टे«निङ सुरु भयो । त्यसपछि भने ताज नै जित्छु भन्ने आत्मविश्वास बढ्यो । यदि आफूमा आत्मविश्वास सँगै ट्यालेन्ट छ भने प्रतियोगितामा जितिन्छ भन्ने लाग्यो र, जिते पनि ।
प्रतियोगिताको फाइनलमा के प्रश्न सोधिएको थियो ?
नारी अगाडि बढ्नका लागि शिक्षा, अवसर र मायामध्ये कुन आवश्यक छ ? भन्ने प्रश्न सोधिएको थियो ।
यी तीनमध्ये नारी अगाडि बढ्न कुन बढी आवश्यक छ त ?
यी तीनै कुराको आवश्यक पर्छ । सबैभन्दा ठूलो कुरा शिक्षा हो । तर, शिक्षा मात्र भएर पनि हुँदैन, अवसर पनि चाहिन्छ । र नारीलाई माया त चाहि नै हाल्छ । त्यसैले यी तीनै कुरा आवश्यक छन् ।

यस प्रतियोगितामा सहभागी भएर तपाईले के सिक्नुभयो ?
धेरै कुरा सिक्न पाएँ । टे«निङका क्रममा कसरी माससँग फेस टु फेस गर्ने भन्नेदेखि आफूमा आत्मविश्वास जगाउन सिकें ।
तपाईंको खाश रुचि के हो ?
मेरो रुचि भनेको मोडलिङ र समाजसेवा हो । मोडलिङलाई आत्मसाथ गर्नकै लागि मिस नेपालमा भिड्ने सोच छ । मिस नेपालमा भिडेपछि मिस वल्डसम्म पुग्ने मेरो लक्ष्य छ ।
फिल्मी अभिनयमा रुचि छ कि छैन ?
मलाई अभिनय त आउँदैन । तैपनि रुचि भने छ । यदि सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रमा प्रस्ताव आए अभिनय गर्न तयार छु ।
हिजोआज अध्ययनमै व्यस्त हुनुहुन्छ । मोडलिङलाई कसरी समय दिन भ्याउनुहुन्छ ?
जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै समय मिलाउँछु । पढाइ त आफ्नो ठाउँमा छदैछ, आफ्नो रुचि पनि पूरा गर्दै जाने सोच छ ।
तत्काललाई के योजना बनाउनुभएको छ ?
अनाथ तथा सडक बालबालिका सम्बन्धी काम गर्ने योजना बनाइरहेकी छु ।

Comments