काठमाडौं । बलिउड अभिनेता आमिर खानले नेपाली फिल्ममा अभिनय गर्न तयार रहेको बताएका छन् । युनिसेफको निम्तोमा दुईदिने नेपाल भ्रमणमा आएका आमिरले बिहीबार राजधानीको एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘स्क्रिप्ट राम्रो छ भने काम गर्न तयार छु ।’ उनले संसारका सबै फिल्म एकैकिसिमका हुने पनि बताए । पोषणसम्बन्धि अभियानमा आएका आमिर युनिसेफले आयोजना गरेको कार्यक्रममा बोल्दैथिए । जहाँ उनले यदि भिजुअल ल्यांग्वेज भएको फिल्म छ भने नेपाली फिल्म खेल्न आफू तयार रहेको बताए ।
कार्यक्रममा आमिर कपिलबस्तुका महिलाको माग साईकल र झुल वितरणमा युनिसेफलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा युनिसेफले अमिरलाई दक्षिण एसियाली सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । कार्यक्रममा आमिर र नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कुपोषण अन्त्यका लागि ‘सुनौला हजार दिन’ को औपचारिक सुरुवात गरेका छन् । कुपोषण अन्त्यका लागि नेपाललगायत ८ वटै सार्क राष्ट्रमा निरन्तर लाग्ने बताउँदै आमिरले काम विशेषले आफू नेपाल आउनुपरेको र छिट्टै सपरिवार नेपाल घुम्न आउने आमिरले बताए । आमिरले बुधबार भैरवा पुगेर सयंमसेवकसँग भेटेका थिए ।