एमपी सब्बा
काठमाडौं । एक दशकअघि रिलिज भएको चलचित्र ‘नुमाफुङ’ भन्नेवित्तिकै एउटा चरित्र दर्शकका आँखा र मनमस्तिकमा अझै नाच्छ । निर्देशक नविन सुब्बाको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त यस चलचित्रमा ‘गिरीहाङ’ एक यस्ता चरित्र छन्, जसले महिलाको संवेदना पटक्कै बुझ्दैन । र, उनी झगडालु स्वभावका हुन्छन् । ‘नुमा फुङ’ मा गाउँघरमा लाग्ने हाट–मेलामा सिरुपाते खुकुरी नचाउने ‘फाउदारे’ तिनै गिरीहाङ अर्थात् अभिनेता प्रेम सुब्बा अब गोर्खा सेनाको बटालियन कमाण्डरका रुपमा देखिँदैछन् ।
२७ भदौबाट रिजिल हुन लागेको विनोद सेरेङ निर्देशित चलचित्र ‘निशानी’ मा ‘नुमा फुङ’ का यी गिरीहाङले खुकुरी र भाला होइन, कारगिलको ‘खालुवार’ मा गोर्खा सेनाको बटालियन कमाण्डिङसँगै ‘इन्सास राइफल’ नचाइरहेको दर्शकले पाउनेछन् ।
लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘नुमा फुङ’ का गिरीहाङदेखि ‘निशानी’ भारत–पाकिस्तानबीचको कारगिल युद्ध ‘खालुवार’मा भारतीय सेनाको गार्खा पल्टन कमाण्डरको भूमिका निर्वाह गर्दासम्मको अनुभव कस्तो होला ? अभिनेता सुब्बा भन्छन्, ‘नुमाफुङपछि पनि मैले केही फरकधारका चलचित्रमा फरक–फरक भूमिका गर्ने अवसर पाएको छु । जस्तै, क्रस फायर अर्थात् एउटा कथामा द्वन्द्वपीडितको प्रतिनिधी पात्रको भूमिका गरेको थिएँ भने चलचित्र दशगजामा भुटानी शरणार्थीको प्रतिनिधी पात्र भएर अभिनय गरेको छु । चलचित्र आवाजमा माओवादी कमाण्डरको भूमिका गरँे । तर, यसबीचमा मैले गरेका फरक र प्रतिनिधिमूलक मेरो भूमिकाहरुमाथि पनि नुमा फुङका गिरीहाङ हावी भइरह¥यो । तर, निशानीको कमाण्डर भूमिकाले ममाथिको ‘गिरीहाङ ट्याग लाई दर्शकले बिर्सनेछन् ।’
अभिनेता सुब्बाले आफ्नो तीन दशकको फिल्मी करिअरमा थुप्रै चलचित्रमा फरक–फरक चरित्र निर्वाह गरिसकेका छन् । तर, ‘निशानी’ को आफ्नो भूमिकाप्रति उनी निकै दंग छन् । अभिनेता सुब्बा भन्छन्, ‘नुमाफुङमा निर्वाह गरेको गिरीहाङको भूमिका अहिलेसम्म पनि दर्शकको मनमस्तिकमा ताजै छ । हुन त नुमाफुङपछि पनि मैले थुपै्र राम्रा चलचित्रहरु गरेँ । तर, दर्शकले अझै गिरीहाङलाई सम्झिरहेका छन् ।’ उनका अनुसार नुमाफुङको झगडालु र नारी संवेदनहिनता भूमिकाले दर्शकको मन च¥र्याएको थियो । हुन पनि दर्शकको मन नच¥र्याएको भए सुब्बाले गरेका थुप्रै चरित्रहरु दर्शकको आँखा नाच्थे र बिर्सन्थे होला । विशेषगरी नारी आफैमा संवेदनशील मानिन्छन् । तर, समाजमा यस्ता चरित्र पनि पाइन्छन्, जो अझै आफ्ना पत्नीलाई पशुसमानको व्यवहार गर्ने गर्छन् । हो, ‘नुमाफुङ’ को गिरीहाङ त्यही चरित्र थियो । फिल्म रिलिज भएको एक दशक बितिसक्दा दर्शकले बिर्सन नसकेका गिरीहाङलाई ‘निशानी’ रिलिजपछि बिर्सिने हुन् कि ? सुब्बा भन्छन्, ‘अवश्य पनि । निशानी रिलिज भएपछि गिरीहाङलाई होइन, त्यो खालुवारमा गोर्खा बटालियनका कमाण्डरलाई दर्शकले सम्झिने छन् ।’
हुन त अभिनेता सुब्बा पूर्वमा ‘सुपरस्टार’ मानिन्छन् । साथै, उनका सहकर्मी कलाकारले अभिनेता सुब्बालाई बलिउडका बिग–बी ‘अमिताभ बच्चन’सँग तुलना गर्छन् । तर, यो कुरा सुब्बा स्वीकादैनन् । ‘भन्न त साथीहरुले जिस्काएर भन्ने गर्छन् तर म सुपरस्टार पनि होइन अमिताभ पनि होइन । म अभिनेता तथा कलाकार प्रेम सुब्बा हुँ ।’ स्मरणीय के भने सुब्बाले कुनै पनि चलचित्रमा अभिनय गर्नुअघि आफ्नो भूमिकाबारे रिसर्च तथा अध्ययन गर्छन् । त्यसैले उनका भूमिकामा गहनता र रियालिटी पाइन्छ । नुमाफुङ मात्र नभइ क्रस फायर, दशगजा, आवाज यसका उदाहरण हुन् ।
२०४१ सालमा रंगमञ्चमार्फत कलाकारिता अंगालेका अभिनेता सुब्बाले ‘निशानी’ले एकपटक आफ्नो फिल्मी करिअरमा कायापलट ल्याउने आशा गरेका छन् । ‘निशानी’ को प्रस्तुतकर्ता समेत रहेका सुब्बाले भने, ‘नुमाफुङ रिलिज भएको एक दशकपछि मेरा दर्शकका लागि हो निशानी ।’ चलचित्रमा प्रेम सुब्बाका अलावा पूर्व इन्डिय आइडल प्रशान्त तामाङ, पूर्व नेपाल स्टार विष्णु चेम्जोङ र अनु गुरुङको पनि मुख्य अभिनय छ । यस चलचित्रलाई सिनाई सिने मकर्सको ब्यानरमा सरोज भण्डारी र ललिता भौबडेल सेरेङले निर्माण गरेका हुन् ।