काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा १८ असारमा राजधानीमा हुने ‘फान अवार्ड–०७२’ का चलचित्र अवलोकन कार्य जुरीहरुले प्रारम्भ गरेका छन् ।
२०७२ सालमा बैशाख १ देखि चैत्र मसान्तसम्म रिलिज गरीएका चलचित्रहरुलाई समावेश गरिने यस अवार्डलाई निष्पक्ष र भव्य बनाउन विज्ञहरुको जुरी समिति निर्माण गरिएको छ । चलचित्रको मुल्यांकन समितिमा ७ सदस्यीय छन् । निर्णायक समितिमा बरिष्ठ कलाकार हरिहर शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, संगीतकार सुरेश अधिकारी, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियसहित नेपाल चलचित्र कलाकार संघकी महासचिव तथा कलाकार सरिता लामिछाने संघका तर्फबाट एवं वरिष्ठ चलचित्र पत्रकार एवं अवार्ड आयोजक समितिका सह–संयोजक प्रकाश सुवेदी रहेका छन् । जुरीले जेठ ११ मंगलबार चलचित्र वडा नं. ६, सुश्री र फन्को हेर्दै मूल्याङकन कार्य प्ररम्भ गरेको हो ।
चलचित्र कलाकार संघले फान अवार्ड –०७२ का लागि बरिष्ठ कलाकार एवं कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा आयोजक समिति निर्माण गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले फान अवार्ड –०७२ भव्य सभ्य रुपमा सम्पन्न गरिने बताए ।