काठमाडौं । गाउँघरमा बिरु मगरले गोठाले जीवन विताए । उनको दिनचर्या गाईभैंसी चराउनमै बित्थ्यो । यिनै बिरु अहिले चलचित्र निर्माताका रुपमा देखिएका छन् । ‘नालायक’मार्फत निर्माता कहलिएका उनले चाडै अर्को चलचित्र निर्माण गर्दैछन् । उनी भन्छन्, ‘केही दिनमै चलचित्रको नाम घोषणा गर्नेछु ।’
काभ्रे, डाँडापारीका बिरुले यहाँसम्म आइपुग्न अहोरात्र संघर्ष गरे । गाउँमा हलो–कोदालो र गोठाले हुँदै बाल्यकाल बिताएका बिरु भन्छन्, ‘थुप्रै रहर बोकेर जब राजधानी छिरेँ, त्यसपछि झनै दुःखहरु बेहोुर्नप-यो ।’ आर्थिक अभावकै कारण उच्चशिक्षा हासिल गर्ने इच्छासमेत पूरा नभएको बताउँदै उनले भने, ‘त्यसबेला अभावका कारण कतिपय इच्छा र आकांक्षाहरु पूरा गर्न सकिनँ ।’
‘परिश्रमको फल मिठो हुन्छ’ भनेजस्तै संघर्षपछि अहिले बिरुको जीवनमा परिवर्तन आएको छ । सानोमा दुःख र मिहिनेत गरेकै कारण अहिले उनले नाम, दाम र शान पाइरहेका छन् । आफ्नो संघर्ष र मिहिनेतले अहिलेको अवस्थामा पुगेका बताउँदै उनले भने, ‘जब मैले रेष्टुरेण्ट व्यवसायिक सुरु गरेँ, तब मेरो जीवनले मोड लिन थालेको हो । अब चलचित्र व्यवसायिकका रुपमा चिनिने मेरो लक्ष्य छ ।’
सानैदेखि कलाकारितामा रहर र इच्छा भएकाले चलचित्र निर्माणमा हात हालेको बिरुले सुनाए । गायनप्रति समेत तीव्र इच्छा भएकाले उनले चाँडै एल्बम निकाल्ने पनि बताए । सुरुका दिनमा गायनमा रहर भएरपनि आर्थिक अभाव र यस क्षेत्रमा चिनेजानेका कोही नभएकाले इच्छा मनमै गुम्साएर राखेको बताउँदै उनले भने, ‘गाउने रहरपनि चाँडै पूरा गर्दैछु ।’ श्रोता तथा दर्शकमाझ चाँडै एल्बम प्रस्तुत आफ्नो योजना सुनाउँदै उनले बिरुले भने, ‘‘अहिले एल्बमको पनि तयारी गर्दैछु । चलचित्र निर्माण र गायनलाई एकसाथ अगाडि बढाउँने मेरो सोच हो ।’