नवराज र संगीताको कलाका कुरा
screennepal
प्रकाशित: २०७२, १० चैत्र बुधबार
no img

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्यूजियमको संयोजनमा हरेक महिनाको दोस्रो बुधबार हुने ‘कलाका कुरा’मा यसपटक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव नवराज भट्ट र सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले राष्ट्रिय कला प्रदर्शनी र नेपाली कलाका बारेमा चर्चा गरे । नेपालमा हुने राष्ट्रिय कला प्रदर्शनी र त्यसले पारेको प्रभावका बारेमा उनीहरुले प्रकाश पार्दै अझै प्रभावकारी ढंगले अगाडि बढनुपर्ने बताए ।

art

file photo

प्रतिष्ठानले सोचे अनुसारको कार्यक्रम गर्न नसकेको बताउँदै सदस्यसचिव भट्टले भूकम्पपछि नेपाली कला क्षेत्रमा प्रभाव पारेको बताए । उनले भने, ‘नाफाको भवन भूकम्पले क्षतिग्रस्त हुन पुग्यो । अहिले टेन्टमा कार्यालय सञ्चालन गरेको छ । यसले कलाका क्षेत्रमा काम गर्न असजिलो भएको छ । सकारात्मक भावना लिएर सबै कलाकार अगाडि बढेमा नेपाली कलाक्षेत्रमा रहेका असीमित संभावनालाई संभावनामा बदल्न सकिन्छ ।’ राष्ट्रिय कला प्रदर्शनीले नेपाली कलाको अवस्था र परिवेशको मूल्याङ्कन हुने भएकाले प्रतिष्ठानले यसलाई भव्य र सभ्य बनाउन काम गरिरहेकोलाई जोड दिँदै सदस्यसचिव भट्ट थपे, ‘स्थान अभावमा पनि यसपटक हामीले राष्ट्रिय कला प्रदर्शनीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक कामकारबाहीको तयारी गरिरहेका छौं ।’
राष्ट्रिय कला प्रदर्शनी कलाकार र राष्ट्रकै लागि पवित्र स्थल हो । यसलाई प्रभावकारी रुपमा प्रस्तुत गर्नुपर्ने बताउँदै संगीता थापाले थिमवाइज डिभाइड गरेर कलालाई विभिन्न ग्यालरीमा प्रदर्शनी गर्न सकिनेमा जोड दिइन् । उनले भनिन्, ‘सबै कुरा एक्लै गर्न सकिदैंन, नाफाले सबैसँग हात अगाडि बढाएर सहयोग लिनुपर्दछ । यसो हुन सकेमा राष्ट्रिय कला प्रदर्शनीलाई साँच्चिकै राम्रो बनाउन सकिन्छ ।’
भूकम्पपछि भौतिक रुपमा समस्यामा परेको प्रतिष्ठानको २०२२ सालदेखि रहेको जग्गासमेत नेपाल सरकारको एकलौटि निर्णयले नेपाल नाट्य संगीत प्रतिष्ठानका नाममा १५ रोपनी जग्गा दिएको छ । नेपाल ललितकला संस्था (नाफा) को नाममा रहेको जग्गा अहिलेसम्म ललितकला प्रतिष्ठानको नाममा समेत नामसारी भएको छैन । सरकारले ललितकला क्षेत्रलाई वेवस्ता गरिरहेको कलाकारले गुनासो समेत गरे । राज्यले कलाक्षेत्रलाई सकारात्मक रुपमा हेर्नुपर्नेमा जोड दिँदै नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा लैजान समेत राज्यले ध्यान दिनुपर्ने कलाकारले बताए ।

Comments