‘भाग्यले बाँचेकाहरु’बाट अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु
screennepal
प्रकाशित: २०७२, २४ मंसिर बिहीबार
no img

काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बाट काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) काठमाडौँमा सुरु भएको छ । काठमाडौँको कुमारी हलमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय महोत्सवमा भाग्यले बाँचेकाहरुको अन्तर्राष्ट्रिय संस्करण ‘नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’लाई उद्घाटन फिल्म बनाइएको हो ।

Bhagyale-Bachekaharu-Ganesh-Panday-Documentary
संचारकर्मी गणेश पाण्डेले निर्देशन गरेको भाग्यले बाँचेकाहरुको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचिकर्मी जोशाय हुपर र संचारकर्मी सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको वृत्तचित्रमा भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालको कथालाई पर्दामा उतारिएको छ ।
दुई महिना अघि सार्वजनिक गरिएको वृत्तचित्रको नेपाली संस्करण नेपालका साथै अमेरिका, अष्टे«लिया र मलेसियामा प्रदर्शन भइसकेको छ । विदेशका विभिन्न देशबाट माग आएका कारण विदेशी दर्शकलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय संस्करण निर्माण गरिएको वृत्तचित्र निर्देशक पाण्डेले बताए । महोत्सवको उद्घाटन सत्रमा किम्फका अध्यक्ष वसन्त थापाले १३ औँ संस्करणसम्म आइपुग्दा खुसी लागेको बताए । अनेकौँ चुनौती र अप्ठेराका बीचमा यसबर्ष किम्फको आयोजना गरिएको बताए । यसैगरी, किम्फकी निर्देशक रम्यता लिम्बूले पाँच दिनसम्म चल्ने चलचित्र महोत्सवमा २५ वटा देशका ८० वटा वृत्तचित्र तथा साना चलचित्रहरु प्रदर्शन हुने बताइन् ।

Comments