दाता सम्मेलनमा ४०० अर्ब बढी सहयोग घोषणा
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
no img

राजधानीको पाँचतारे होटल सोल्टीमा आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ विभिन्न दाताहरुले  ४०० अर्ब बढी पुनःनिर्माणका लागिसहयोग घोषणा गरेका छन् ।

काठमाडौं । महाभूकम्पपछिको नेपाल पुननिर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृनिकायले करिब ४ सय अर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गरेका छन् । बिहीबार राजधानीको पाँचतारे होटल सोल्टीमा आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारतले सबैभन्दा ठूलो राशी १०० अर्ब सहयोगको घोषणा गरेको छ । यो सहयोग मध्ये २५ अर्ब अनुदान हुनेछ ।

????????????????????????
महाभूकम्पपछि भारतले नेपालको पुननिर्माणका लागि १ अर्ब डलर सहयोग गर्ने जनाएको हो । दाता सम्मेलनमा बोल्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भारतले सहयोग गर्ने रकम खुलाएकी थिइन् । त्यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन् । भारतलेयसअघि दिने भनेको १ अर्ब डलरको सहयोगसहित आउने पाँच वर्षभित्र दुई अर्ब डलर पुग्ने भएको छ ।
यस्तै, अर्को छिमेकी मुलुक चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेका हुन् । चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट प्रभावित छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न एक अर्ब रुपैयाँ वित्तिय सहायता उपलब्ध गराइने पनि उनले जानकारी दिए । त्यसै, उनले पूर्वाधार विकासका लागि पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि पहिलो चरणमा २०१६–१८ का लागि करिब ५० अर्ब चिनियाँ सहयोग आउने उनले बताए ।
यस्तै, नेपाललाई विश्व बैंकले पनि ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकका अध्यक्षले बिहीबार राजधानीमा आयोजित सम्मेलनमा भिडियो सन्देश दिँदै उक्त सहयोगको घोषणा गरेका हुन् । उनले सम्बोधनमा २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने बताएका थिए । यसैगरी युरोपियन युनियन (इयु) ले ११ अर्ब रुपैयाँ अनुदान दिने जनाएको छ । दाता सम्मेलनमा बोल्दै इयुको प्रतिनिधिले सो अनुदान रकम घोषणा गरेका हुन् । यस्तै, एसियाली विकास बकैं ‘एडिबी’ले नेपालको पुननिर्माणका लागि २५ अर्ब रुपैयाँ सहयोग गर्ने जनाएको छ । राजधानीमा आयोजित दाता सम्मेलनमा एडिबीले उक्त सहयोग घोषणा गरेको हो । एडिबीले २० अर्ब रुपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत ऋण र ५ अर्ब बजेटका लागि अनुदान दिने जनाएको हो ।
यस्तै, अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रुपैयाँ पु¥याउने भएको छ । बिहीबार कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेशमन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोग रकम आउने बताएका हुन् । भूकम्पपछि पुननिर्माणका लागि नर्वेले ३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । सम्मेलनमा बोल्दै नर्वेका प्रतिनिधिले सो अनुदान रकमको घोषणा गरेका हुन् । त्यस्तै, जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंमा भएको दाता सम्मेलनमा बोल्दै जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले उक्त सहयोग घोषणा गरेका हुन् ।

Comments