काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । यसअघि यो फिल्म आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।
कात्तिक २२ गतेदेखि मंसिर १७ सम्म अमेरिकाको लस एन्जलसस्थित कल्भर सिटीमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको हो । प्रतिस्पर्धाको लाइनअपमा यस वर्ष ओस्कारमा सिफारिस भएका एसियाली मुलुकका अन्य फिल्म पनि समावेश छन्।
विक्रम सापकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्छ । एक हुलाकीको माध्यमबाट निर्देशकले कथा भन्ने प्रयत्न गरेका छन् । घरमा राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मलाई रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् ।
फिल्ममा महेश त्रिपाठीले हुलाकीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा विनिता थापा मगरको पनि शीर्ष भूमिका छ । फेस्टिभलको ओपनिङ फिल्ममा यस वर्ष ओस्कारमा सिफारिस दक्षिण कोरियाली फिल्म ‘कंक्रिट युटोपिया’ र समापन फिल्ममा चीनको ‘क्रिएसन अफ द गड्स आइ ः किङ्डम अफ स्ट्रोम्स’ छ ।