डिस्नेको २०१८ मा ७ अर्ब डलर आम्दानी, २०१९ मा अर्को फड्को मार्दै
screennepal
प्रकाशित: २०७५, १९ पुष बिहीबार
no img

लस एन्जलस, (एजेन्सी) । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ ।
डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित ‘ब्लाक प्यान्थर’, “एभेन्जर्सः इन्फिनिटी वार’लगायत एनिमेटेड सिक्वेल चलचित्र ‘इन्क्रेडिबल–२’ र पछिल्लो ‘स्टार वार्स’ चलचित्र बजारमा ल्याएको थियो ।
बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्ने हो । सन् २०१६ मा यसको आम्दानी ७ अर्ब ६० करोड डलर थियो । ‘डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद’, वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले एक वक्तव्यमा भनेका छन् ।
उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । यो आफैंमा नयाँ रेकर्ड हो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । ‘ब्लाक प्यान्थर’, ‘एभेन्जर्सः इन्फिनिटी वार’, ‘इन्क्रेडिबल–२’ र ‘स्टार वार्स’ समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् ।
यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । ‘क्याप्टेन मार्भेल’ र ‘एभेन्जर्सः इन्डगेम’ नयाँ स्वरुपमा आउँदैछ भने ‘फ्रोजेन–२’ र ‘स्टार वार्सः इपिसोड नाइन’ वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ ।
एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा ‘डम्बो’, ‘अल्लादीन’ र ‘दी लायन किङ’ पनि बजारमा आउँदैछन् । त्यस्तै, डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा ‘टोय स्टोरी फोर’ पनि यसै वर्ष बक्स अफिसमा आउने भएका छन् ।

Comments