प्रमोशनमा पनि ‘जात्रै जात्रा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २८ कार्तिक बुधबार
no img

फिल्मको नामै ‘जात्रै जात्रा’ । प्रमोशनमा पनि जात्रा नै गर्दैछ किनकि यो फिल्म सिनेमा ‘हलमा नलाग्दै नाफामा’ भन्न थालिएको छ ।
फिल्म निर्माणपक्षका अनुसार यो फिल्म अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैयाँमा सम्झौता भइसकेको छ जबकि फिल्म अझै बनिसकेको छैन । फिल्मको टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको जनाइएको छ ।
सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र रिर्पोट हेरेर अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको चिरन श्रेष्ठले जनाएका छन् । पहिलो फिल्मले दर्शकको मन जितेको र ‘जात्रै जात्रा’ को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले फिल्ममा ३५ लाख रुपैयाँ लगानी गरेको उनको भनाइ छ ।

निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार अन्य देशहरुमा पनि प्रर्दशन गर्ने कुरा भइरहेको छ । यस्तै, विभिन्न ब्राण्डहरुसँगको सहकार्य र ओभरसिस बिक्री आँकलन गर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदीप भट्टराईको दाबी छ ।
हाल अष्ट्रेलिया नेपाली फिल्मका लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यसपछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हङकङ र जापानलाई लिइन्छ । निर्देशक भट्टराईको अघिल्लो फिल्म ‘जात्रा’ले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म ‘शत्रुगते’ले सिड्नीमा मात्र १७ शो र अष्ट्रेलियाभर ४० भन्दा बढी शो गरेको थियो । षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित ‘जात्रै जात्रा’ आउँदो १७ फागुनमा प्रदर्शनमा आउँदैछ । फिल्ममा बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।

Comments