नेपाल पहिल्यैदेखि कला, साहित्य र संगीतमा समृद्ध : प्रधानमन्त्री ओली
screennepal
प्रकाशित: २०७५, ११ श्रावण शुक्रबार
no img

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परम्परागत अवस्थादेखि नै कला, साहित्य र संगीतमा समृद्ध रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै बिहीबार प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले नेपालले प्राचीनकालमै विभिन्न आविष्कार गरेपनि तिनको दाबी, रक्षा र विकास गर्न नसकेको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रयासमा सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपमा विपन्न भएपनि अन्य कुरामा धनी भएको उल्लेख गर्दै सरकारले समृद्धिसँगै सुखी नेपालीको लागि आठ प्रतिशतको उत्पादन वृद्धिको लक्ष्यका साथ विभिन्न योजना अघि बढाएको उल्लेख गरेका छन् । उनले आगामी तीन वर्षमा नेपाल सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको मुलुक बन्ने दाबी समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ वार्षिक प्रतिवेदन बुझाएको थियो । प्रतिष्ठानले आव २०७३÷७४ मा सरकारबाट प्राप्त र आफ्नो आय गरी कूल बजेट १५ करोड खर्च गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरेको कुलपति उप्रेतीले बताए । प्रतिष्ठानले २१ वटा पुस्तक यस वर्ष प्रकाशन गरेको र थप २९ वटा पुस्तक तयार गरी छपाइका लागि प्रेसमा पठाएको जनाएको छ ।
आव २०७४÷७५ मा १६ करोडको बजेट खर्च गरी प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेको छ जसमध्ये ४१ वटा अध्ययन–अनुसन्धान र ग्रन्थ लेखनको काम, २८ वटा पुस्तकको प्रकाशन तथा ४४ पुस्तक प्रकाशनका लागि छापाखानामा पठाइएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।

Comments