‘लुट’ निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ
screennepal
प्रकाशित: २०७५, २ जेष्ठ बुधबार
no img

काठमाडौं, २ जेठ । चलचित्र तथा वितरक निर्माता माधव वाग्ले नक्कली नोटसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्माता वाग्लेसहित जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनीहरुलाई कमलपोखरी, ललितपुरको लुभु, चारढुंगे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले बताएका छन् ।
प्रिनसेस मुभिजका सञ्चालक समेत रहेका वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको जनाइएको छ । वाग्ले निर्मित लुट, लुट–२, छड्के, रेशम फिलिलीलगायत चलचित्र हिट छन् ।
काठमाडौँको मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेत घर भई हाल कमपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा नक्कली नोट दिएपछि खाजा घरका मालिकले प्रहरीमा खबर गरेपछि पोल खुलेको थियो ।
तत्कालै गोंगबु प्रहरीले बोगटीलाई पक्राउ गरी सोधपुछ तथा खानतलासी गर्दा १ लाख २० हजार बरामद गरेको थियो ।
प्रहरीका अनुसार बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापीतलाई छाप्न दिएका थिए । सबै नक्कली नोट नापितको छापामा छापिएको जनाइएको छ ।

Comments