काठमाडौं, ११ बैशाख । ‘युगकवि सिद्धिचरण प्रतिष्ठान’को अध्यक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा आयामेली कवि वैरागी काइला ‘तिल विक्रम नेम्वाङ’ चयन भएका छन् ।
युगकविका पुत्र रविचरण श्रेष्ठको संरक्षक रहेको साधारण सभाले काँइलालाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । काँइला २०५३ सालमा ‘युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’बाट पुरस्कृत भइसकेका सर्जक हुन् । काँइलाले नेपाली साहित्य यात्रा भारतबाट सुरु गरेका आयामेली आन्दोलनका ३ हस्तीमध्ये एक हुन् ।
त्यस्तै, उपाध्यक्षमा प्राडा. मोहन लोहनी, पुरुषोत्तम बस्नेत, सचिवमा प्राडा. गार्गी शर्मा, सहसचिवमा डा. फणिन्द्रराज निरौला र कोषाध्यक्षमा मेषबहादुर जीसी चयन भएका छन् । सदस्यहरुमा डा. शैलेन्द्र प्रकाश नेपाल, सुबसेन, रामकृष्ण दुवाल, दुर्गाप्रसाद अर्याल, रामबाबु सुवेदी, शैलेन्द्र शाकार र अजञ्ता श्रेष्ठ रहेका छन् ।
प्रतिष्ठानले जेष्ठ ९ गते देखी ११ गतेसम्म युगकवि सिद्धिचरणको जन्मोत्सव पारेर ३ दिवशिय सिद्धिचरण काव्य उत्सव मनाउने तयारी गरेको छ ।