काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
यस्ता पर्वले विभिन्न जातजातिबीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपतिले सन्देशमा भनिएको छ, ‘हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।’
राष्ट्रपतिले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न कामना व्यक्त गरेकी छन् ।
यस्तै, उपराष्ट्रपति पुनले नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
सूर्य धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफु विश्वस्त रहेको उपराष्ट्रपतिले बताएका छन् ।
सन्देशमा भनेका छन्, ‘हाम्रा विभिन्न मौलिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ् गर्न मद्दत पु¥याइरहेका छन् ।’