यु–ट्युब च्यानलमा बढ्दो विकृतिप्रति संघद्वारा ध्यानाकृष्ट !
screennepal
प्रकाशित: २०७४, १० पुष सोमबार
no img

काठमाडौं, १० पुस । पछिल्लो समय यु–ट्युब च्यानलमा अन्र्तवार्ता र विभिन्नखाले उछृंगल सामग्रीहरु अपलोड गर्ने र सस्तो चर्चामा आउने प्रवृति बढेकोमा चिन्ता व्यक्त गर्दै संगीत कला पत्रकार संघले सरोकारवालालाई ध्यानाकृष्ट गरेको छ ।
यु–ट्युब च्यानल सञ्चालन गर्ने लहरसँगै भ्युअर्स बढाउने ध्येयले अश्लीलता लाग्ने तथा द्ववीअर्थी शब्द प्रयोग बढ्दै गएको भन्दै यस्ता क्रियाकलापले पत्रकारको पेसामाथि नै नकरात्मक असर पर्न थालेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संघद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ ‘पछिल्लो समय डिजिटल सञ्चारमाध्यमहरुमा युट्युबलगायतको लोकप्रियता बढ्दो छ । तर, युट्युबलगायतका डिजिटलमाध्यमलाई मात्रै आधार बनाएर पत्रकारिताका नाममा विकृति, विसंगति गर्ने प्रचलन बढ्दै गएको छ ।’
त्यस्तै, ‘संगीत, कला (चलचित्र, नाटक, टेलिफिल्म) क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिरहेका ती डिजिटलमाध्यममा अन्तवार्ता र रिपोर्टका नाममा अश्लिल, द्ववीअर्थी, चरित्रमाथि आँच आउने खालका सामाग्रीहरु प्रेषण गर्ने प्रवृत्ति बढेको छ । सस्तो लोकप्रियता र अर्थोपार्जनका लागि पत्रकारिताको न्युनतम मूल्य मान्यता विपरित भइरहेका यस्ता हर्कतप्रति खेद प्रकट गर्दै यसको नियमनका लागि नेपाल सरकार सञ्चार मन्त्रालय, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघको ध्यानआकृष्ट गर्न चाहान्छौं’ विज्ञप्तीमा भनिएको छ ।
नेपाल संगीत कला पत्रकार संघको सोमबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
संघको बैठकले समाजमा नकरात्मक असर गर्ने गरी अन्तर्वार्ता वा सामाग्री उत्पादन गर्ने व्यक्ति, संस्था र त्यसलाई प्रोत्साहन गर्न अन्तर्वार्ता दिने र सामाग्री उत्पादन गर्न सघाउनेलाई वहिष्कार गर्ने समेत जनाएको छ । साथै, सामाजिक विसंगति र विकृति बढाउने त्यस्ता गतिविधिमा संलग्नहरुलाई यथाशिघ्र कारबाही गरी निरुत्साहित गर्न सरोकारवाला निकायहरुसँग संघले आग्रह गरेको छ ।

Comments