बबरमहलमा १९ कलाकारको ‘आर्ट इन्सेम्बल’
screennepal
प्रकाशित: २०७४, ३० आश्विन सोमबार
no img

काठमाडौं, ३० असोज । नेपाल आर्ट काउन्सिल बबरमहलमा १९ जना कलाकार सहभागी रहेको ‘आर्ट इन्सेम्बल’ शीर्षकको प्रदर्शनी शनिबारबाट सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर अन्तिम सेमेस्टरमा अध्ययन गरेका विद्यार्थीले नेपालका विविध समसामयिक सन्दर्भमा बनाएका समसामयिक चित्र, प्रिन्टमेकिङ, प्रतिस्थापन कला, भिडियो, डिजिटल आर्ट प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुषमा राजभण्डारी, कलाकार तथा समीक्षकत्रय रमेश खनाल, मुकेश मल्ल तथा सरोज बज्राचार्यले नेपाली कलामा पछिल्लो समय यी कलाकारले राम्रो प्रभाव जमाउन सकेको बताए ।
‘नेपाली कलामा सशक्त ढंगले यी कलाकार देखापरेका छन् । कलामा देखिने विषयगत दृष्टिकोण, सामाजिक मान्यता र समकालीन सन्दर्भलाई निकै प्रभावकारी रुपमा कलाकारले प्रस्तुत गरेका छन्,’ समीक्षक खनालले बताए ।
कार्यक्रममा अर्का समीक्षक मल्लले नेपालमा कलाका २ धार चलेको बताउँदै भने, ‘पोस्ट मोर्डन टेन्डेन्सी र समसामयिक धारका कला नेपालमा आएको छ ।’कलाकारले कला रचनासँगै अन्तक्र्रियामा जोड दिनुपर्ने कलाकार तथा लेखक सरोज बज्राचार्यले बताए ।
प्रदर्शनीमा राखिएका कलाले नेपालमो परिदृश्यलाई कलात्मक रुपमा उठान गरेको प्राज्ञ राजभण्डारीले बताइन् । प्रदर्शनी अवलोकन गर्न पुगेका पूर्वमन्त्री गगन थापाले कलाले देशलाई जोड्ने भएकाले यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।
विविध विषयका साथै नेपालका समकालीन घटनालाई कलाकारले कलामा उधिनेको प्रदर्शनीमा कलाकार प्रभात श्रेष्ठले बताए । प्रदर्शनीमा ७० वटा कलाकृति रािखएको सहभागी कलाकार मन गुरुङले बताए ।
प्रदर्शनीमा अनिल महर्जन, भुफान लिम्बू, विकास श्रेष्ठ, बिक्कु कुमार थापा, दीपाञ्जली राजभण्डारी प्रधान, धुव्र राज शर्मा, दिपक मेहता, जया शर्मा, जेनी घले, प्रभात श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम प्रकाश गुरुङ, प्रमिला लामा, प्रमोद कुमार तन्डुकार, रितु थापा, सुदेशा श्रेष्ठ, उमा खडका र उपकार घमाल सहभागी भएका छन् । प्रदर्शनी बुधबारसम्म रहने छ ।

 

Comments