एकल लोकगायन प्रस्तुत हुँदै गर्बुजा
screennepal
प्रकाशित: २०७४, ९ बैशाख शनिबार
no img

काठमाडौं, ९ बैशाख । लोकगायक खड्ग गर्बुजा १६ बैशाखमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोकगायन गर्न लागेको बताए ।
म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रममा बोल्दै गायक गर्बुजाले आफूले मौलिक लोक संस्कृतिको लागि केही भए पनि टेवा पुगोस् र आगामी दिनमा हराउँदै गएको मौलिक लोकसंस्कृतिलाई पुनः सम्झना दिलाओस् भन्नका लागि लोक गायनको आवश्यकता महसुस गरेको बताए ।
म्याग्दीको मराङ गाविसमा २०२६ साल माघ २५ गते जन्मिएका खड्ग गर्बुजाले शास्त्रीय संगीतको समेत ज्ञान हासिल गरेका छन् । उनले त्यो रानी बनको तिरतिरे धारो, हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो बरिलै, छ फूल बनैमा, सुन मुरलीलाई, जस्ता सालैजो, कौरा, यानीमाया, ठाडो भाका, रोइला, शिरफूल भाका, साहिलो भाका जस्ता गीत गाएर मौलिक लोक गायनलाई विश्वमा रहेका नेपालीमाझ चिनाएका छन् । १५ जनाभन्दा बढी वाद्यवादकका साथ आफूलाई एकल गायनमा प्रस्तुत गर्दै गरेका गर्बुजाले आफ्नो लोकगायनले पछिल्लो समय नेपाली लोकसंस्कृतिमा देखिएको मौलिकपनको अभावलाई सम्झाउने र पुनः मौलिकतामा फर्कनेहरुलाई उत्प्रेरित गर्ने बताएका थिए ।

Comments