काठमाडौ, २७ फागुन । शुक्रबारबाट नेपालको सम्रचन फेरिएको छ । १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, ३ हजार १ सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि ७ सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ।
नेपाल सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी ७ सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो।
राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन्।
जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ। चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनाएको हो ।
काठमाडौं, ललितपुर, चितवन र कास्की जिल्लामा क्रमशः काठमाडौं, ललितपुर, भरतपुर र पोखरालेखनाथ नामका महानगरपालिका बनाएका छन् भने बिराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका बनाइएका छन् ।