नेपालकै ठूलो फेशन शोमा तीनपटक अडिसन दिँदा पनि छनोटमा नपरेकी अञ्जली आज भारतकै ठूलो फेशन सप्ताहमा सुपर मोडेलको रुपमा प्रस्तुत भइरहेकी छन् । अब त नेपालकै ठूलो फेशन शोहरुमा अञ्जलीलाई मोडेलको रुपमा राख्दा कतै गर्व गर्लान् की ? भारतमा मात्र हैन अब अन्तर्राष्ट्रियस्तरमै अञ्जली लामाको पहिचान बढोस ।
जयन सुब्बा मानन्धर
कोरियोग्राफर तथा फेसन पत्रकार
काठमाडौं, २० माघ २०७३ ।
मेरो पहिलो नजरमा अञ्जली लामा भविष्यमा गएर सफल रेम्प मोडेल बन्न सक्छ भन्ने लागेको थियो । त्यो हो उनको आकर्षक उचाई र यस क्षेत्रमा केही गर्छु भन्ने आत्मविश्वास । उनको हाइट राम्रो भएकोले नै रेम्प मोडेलिङको ट्रेनिङ लिँदा राम्रो हुन्छ भन्ने सल्लाह दिएको थिएँ । त्यसैअनुरुप उनले दि रेम्प फेशन एण्ड मोडलिङ एजेन्सीबाट प्रोफेशनल ट्रेनिङ लिइन् ।
त्यतिबेला रेम्प मोडेलिङ ट्रेनिङको लागि लाग्ने शुल्कभन्दा मैले न्युनतम रकममात्र लिएको थिएँ किनकि उनीसँग त्यस्तो खासै राम्रो जब थिएन । ट्रेनिङपछि मैले उनलाई पोर्टफोलियोको लागि फोटोशुट गर्न सल्लाह दिएको थिएँ । उनी फोटोसुट गरेर फोटोहरु पनि एजेन्सीमा बुझाउन आइन् र मैले उनको फोटोहरु धेरै ठाउँमा पठाएको थिएँ ।
धेरैजनालाई भनेको पनि थिएँ, मोडेलिङ असाइमेन्टको लागि । तर, हाइट राम्रो भए पनि तेस्रोलिंगी हुँदैन भन्थे । केटी मोडेल मागेको, तपाईंको एजेन्सीले केटा मोडेल पो पठाउँछ ? भनेर उल्टै जिस्काउँथे । फेशन शोको लागि मैले धेरै ठाउँमा आफै भन्ने गर्थे, एकचोटी भए नि चान्स दिनु भनेर मैले पठाएको सबै मोडेलहरु सेलेक्ट हुन्थे तर अञ्जली भने जहिले पनि रिजेक्ट । ‘तपाईंले भनेको ठाउँमा गएको फोन गर्छु भनेर गरेन त’ उनी भन्थे । यसोभन्दा मलाई पनि नराम्रो लाग्थ्यो । उनी रेम्पमा बराबर आउने गर्थिन् । फ्रस्टेसन भएको कुरा पनि गर्थिन् । मैले सम्झाएर कन्भिस गर्थे । ‘जुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नु निरन्तरता चाहिन्छ, हरेश खानु हुँदैन, जुन चिज सजिलै पाइन्छ त्यसको महत्व हुँदैन, जुन चिज पाउँन गाह्रो हुन्छ । त्यसको महत्व नै बेग्लै हुन्छ’ भनेर सम्झाउँथे । रनवे मोडेल बन्न यति मरिहत्ते गर्नेलाई मैले पनि केही गर्नैपर्छ भन्ने सोच बनाएँ ।
मैले आफुले चिनेको मिडियाका साथीहरूलाई पनि उनलाई प्रमोट गर्न गर्न लगाएँ । आफु पनि मिडियामा भएकोले मैले अञ्जलीको अन्तर्वार्ताहरु आफै लिएर उनलाई प्रोमोट गर्न थालेँ । सानै अन्तर्वार्ता भए नि फोटो ठुलो राखिदिन्थेँ । शुक्रबार साप्ताहिकले धेरैपटक छापेको थियो साथै ग्लेमर नेपाल अनलाइनले पनि । मैले सधै तेस्रोलिंगी मोडेल भनेर शिर्षक बनाउँथे र त्यसलाई नै हाइलाइट गथेँ ।
अञ्जलीले सुरुदेखि नै आफ्नो पहिचान कहिले पनि लुकाउन चाहिनन् । मलाई सबैभन्दा बढी उनको यहि कुराले प्रभाव पारेको थियो । पत्रपत्रिकामा आफ्नो अन्तर्वार्ता र तस्बिर आउँदा उनी धेरै खुशी हुन्थिन् र मलाई चकलेट लिएर ‘थ्यांक यु सो मच मच’ भनेर भेटन् आइहाल्थिन् ।
याक एण्ड यतिमा एउटा कार्यक्रमको लागि सिर्जना सिंह योञ्जनले मोडेलहरु मागेको थियो । ५ जना केटा मोडेल र ५ जना केटी मोडेल । त्यसमा मैले अञ्जलीलाई पनि पठाएँ । उ सेलेक्ट भयो र अन्य मोडेलसँगै स्टेजको अनुभव बटुल्यो । उनले मलाई संधै भन्ने गर्थी ‘लाई काम भए पुग्छ पारिश्रमिक चाहिँदैन , तर म उनलाई भन्ने गर्थे थोरै पैसा भए नि लिनु तर सितैमा काम कहिले नगर्नु, नत्र तिमी कहिले पनि प्रोफेशनल मोडेल बन्दैनौं । त्यसैले त्यो कार्यक्रममा थोरै भए नि उनले पारिश्रमिक लिए, त्यसपछि ठमेलको फेक्ट्रीमा नयाँ डिजाइनरहरुको फेशन शो हुन लागेको थियो । त्यसको कोरियोग्राफी मैले गर्दै थिएँ, त्यहाँ पनि मैले आयोजकलाई रिक्वेस्ट गरेँ र अञ्जलीलाई राख्न तयार भइन् ।
आर्टि्स्टिक कट्स नामक उक्त फेशन शो सफलतापुर्वक सम्पन्न भयो, जसमा नगमा श्रेष्ठ शो स्टपर थिइन् । उक्त फेशन शोमा युबी थापा (अहिलेका चर्चित युवा डिजाइनर)को रेड ड्रेसमा अञ्जली नोटिस भइन् । मिडियाले पनि राम्रै कभरेज गरे । उनले पारिश्रमिक पनि राम्रै पाइन् । उनले काम गर्ने सस्था ‘ब्लु डाइमण्ड’ मा पनि उनी बिस्तारै व्यस्त हुन् थालिन् । बेलाबेलामा उनी सर्जरीको लागि बैंकक जाने गर्थिन् । जागिर खाए नि उनको ध्यान रेम्प मोडेलिङमै थियो ।
ह्यात होटेलमा सनशिल्क क्लिनिक प्लस फेशन शोको लागि मोडेलहरु मागेको थियो । त्यसको लागि अडिसन दिनुपर्ने भएकोले मैले अन्य मोडेलहरुसँगै अञ्जलीलाई पनि बोलाएँ । त्यसमा पनि अञ्जली सेलेक्ट भइन् । बिस्तारै उनलाई बाहिरको रेम्प शोहरुको अफरहरु आउन थाल्यो । त्यसैअनुरुप फेशन शो आयोजक, डिजाइनर, फोटोग्राफरहरुसँगै उनको चिनजान बढदै गयो । उनले बाहिरको फेशन शोमा अडिसनमा जाउँ भनेर सोध्ने गर्थी, मैले सोध्नु पर्दैन, जहाँको काम भए नि गर तर राम्रो शोहरु गर भन्ने गर्थेँ । अञ्जली अझ ब्यस्त हुन् थालिन् । फेशन शो, फेशन शुटहरुमा छाउन थालिन् । उनलाई अझ अघि जानु थियो ।
उनको यस क्षेत्रमा केही गर्छु भन्ने दृढता र निरन्तरताले आज उनी भारतको सबैभन्दा ठुलो फेशन शो ‘लेक्मी फेशन वीक’मा नेपालकै पहिलो तेस्रोलिंगी मोडलको रुपमा प्रस्तुत हुन सफल भंएकी छन् । यो फेशन मोडेलिङ क्षेत्रको लागि गर्वको कुरा हो । साथै सिगो नेपालको लागि पनि ।
नेपालकै ठूलो फेशन शोमा तीनपटक अडिसन दिँदा पनि छनोटमा नपरेकी अञ्जली आज भारतकै ठूलो फेशन सप्ताहमा सुपर मोडेलको रुपमा प्रस्तुत भइरहेकी छन् । अब त नेपालकै ठूलो फेशन शोहरुमा अञ्जलीलाई मोडेलको रुपमा राख्दा कतै गर्व गर्लान् की ? भारतमा मात्र हैन अब अन्तर्राष्ट्रियस्तरमै अञ्जली लामाको पहिचान बढोस ।
नोट : यो आलेख जयन सुब्बा मानन्धरको फेसबुकबाट साभार गरिएको हो ।