छिमी मम्बा : रहरै–रहरमा फूलेकी ‘म्हेन्दोमाया गायिका’
screennepal
प्रकाशित: २०७३, २० माघ बिहीबार
no img

हालसम्म छिमीले करिब डेढ दर्जनको हाराहारीमा गीत गाइसकेकी छन् । तीमध्ये अधिकांश तामाङ भाषाका गीत छन् भने केही नेपाली ।

-एमपी सुब्बा

काठमाडौं, २० माघ । ‘म्हेन्दोमाया गायिका’ को उपमा पाएकी छिमी मम्बा हिजोआज निकै व्यस्त छिन् । सुरुमा रहरले गायन अँगालेकी भएपनि आफ्नो पछिल्लो समयको आफ्नो व्यस्तताले उनीमा जोश थपिएको छ । छिमी भन्छिन्, ‘ल्होसार यता विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुँदै आएकी छु ।’

chhimi
सोनाम ल्होसारको अवसरमा धादिङमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुत भएर दर्शकको मन जितेकी छिमीले भनिन्, ‘ यो २२ माघमा नुवाकोट जाँदैछु ।’ नुवाकोटको शिखरबेसीमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुत हुन जान लागेकी उनले भनिन्, ‘अरु पनि कार्यक्रमका लागि अफरहरु आइरहेका छन् ।’ नुवाकोट, धादिङ, रसुवालगायतका तामाङ बाहुल्य रहेको जिल्लाहरुमा ‘म्हेन्दोमाया’ भाका निकै लोकप्रिय छ ।

यी म्हेन्दोमाया गायिकालाई ती जिल्लाहरुमा आयोजना हुने कायक्रमहरुबाट अफर आउने गरेको छ । जसलाई उनले आफ्नो ‘मिहिनेतको फल’ भन्न रुचाउँछिन् । ‘यहाँ मिहिनेत गरे अवश्य फल पाइन्छ’ छिमीले भनिन्, ‘गायन मेरो रहरै भएपनि मिहिनेत गरेकी छु । अहिलेको व्यस्तता त्यही मेरो मिहिनेतको फल हो ।’

chhimi 1
केही साताअघि सम्पन्न ‘प्रथम म्हेन्दामाया म्युजिक अवार्ड’ मा ‘तामाङ ठिटी’मार्फत उत्कृष्ट एल्बमको अवार्ड पाएकी छिमी विशेषगरी ‘म्हेन्दोमाया गायिका’ भनेर चिनिन्छिन् ।
हालसम्म छिमीले करिब डेढ दर्जनको हाराहारीमा गीत गाइसकेकी छन् । तीमध्ये अधिकांश तामाङ भाषाका गीत छन् भने केही नेपाली ।
गायनलाई रहरकै रुपमा मात्र लिएकाले पनि नेपाली गीत धेरै रकर्ड गर्न नसकेको उनको भनाइ छ । हुन त छिमीले २०६२ सालमै रेडियो नेपालमा तामाङ भाषा गीत रेकर्ड गराएर गायन रोजेकी हुन् ।
पछिल्लो समयमा आएर भने उनले गायनलाई निरन्तरता दिने सोच बनाएकी छन् । गायनका लागि उनलाई स्वरले समेत साथ दिएको छ । छिमीको स्वरमा माधुर्यता छ । यो कुरा उनका प्रशंसक र शुभचिन्तकले पनि छिमीलाई भन्ने गरेका छन् । त्यसैले पनि उनी अहिले गायनलाई निरन्तर अगाडि बढाउने सोच बनाएकी हुन् ।
गायनलाई रहरकै रुपमा अँगालेर पनि सफलतातिर लम्किरहेकी छिमीको उद्देश्य भने चलचित्र निर्माण गर्नु हो । ‘तामाङ भाषाका गीत गाएर आफ्नो संस्कृति, संस्कार र भाषाको प्रवद्र्धन गर्दै आएकी छु, ‘उनले भनिन्, ‘चलचित्र निर्माणलाई भने व्यवसायिक रुपमा लिनेछु ।’ उनले निकट समयमै नेपाली चलचित्र निर्माण गर्ने सुनाइन् ।

Comments