‘होहल्ला’ हुने ठाउँमा यसपटक साहित्यिक चहलपहल
screennepal
प्रकाशित: २०७३, १६ माघ आईतवार
no img

दमक, १६ माघ । ‘धेरै होहल्ला हुने झापामा यसपाली भने अलिक बेग्लै पुस्तक र साहित्यको होहल्ला हुनु हामी झापाबासीको लागि उत्साहको कुरा हो’ दमकस्थित रेडक्रस भवनमा बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सवको दशौं संस्करणको फूलमान बलको कथा कृति काजोल खातुन किनेर उद्घाटन गर्दै बरिष्ठ साहित्यकार चुणामणि रेग्मीले भने, ‘अबको समय बहस, छलफल र सहकार्यको समय हो । एक महिनाभित्र यसरी तीस किलोमिटरको फरक यति ठूलो साहित्यिक गतिविधि हुनु शुभ लक्षण हो । नेपालमा पठन संस्कार विकास गर्न यो कोसेढुंगा सावित हुनेछ ।’

sahitya
माघ २२ गतेसम्म चल्ने यस संस्करणमा एक दर्जन सेसनहरु निर्धारण गरिएको छ । आज पहिलो दिन पठन संस्कृतिको विकास र युवाहरुलाई पुस्तकप्रति आकर्षित गर्ने उद्देश्यले युवा लक्षित मोटिभेसनल सेमिनारको आयोजना गरिएको थियो । पुण्यप्रसाद प्रसाई, भेषराज न्यौपाने, हरि सिटौला, नबीन प्राची जस्ता वक्ताहरुले पढ्नुको महत्व बारेमा प्रकाश पारेका थिए ।
आयोजक संस्था डिकुरा पब्लिकेसनका अध्यक्ष तथा स्रष्टा पुण्यप्रसाद प्रसाईका अनुसार, शरीरलाई तन्दुरुस्त राख्न व्यायाम र पौष्टिक आहाराको आवश्यकता परे जस्तो मस्तिष्कलाई तन्दुरुस्त राख्न पुस्तकको आवश्यकता पर्छ । त्यसैले सधैं एउटा पुस्तक साथ हुनु आजको आवश्यकता हो किनकि अबका नेपाली युवाको कम्पिटिटर केवल यहीको अर्को राम, हरि र श्याम मात्र नभएर अमेरिकाको ज्याक र माइकल पनि हो । त्यसैले उसँग बराबरी गर्न अबका युवाले नपढी धरै छैन ।
प्रसाईले भने, हामी एक पटक पुस्तक बोकेर पूरा देश घुम्न चाहन्छौ, बिर्तामोडबाट हामी दमक आइपुगेका छौं । र तीसहजार अवलोकनकर्तालाई महोत्सव अवलोकन गराउने हाम्रो उद्देश्य रहेको छ ।
दमकमा पहिलोपटक भएकाले दमकवासीहरुमा यस बृहत् पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सवप्रति उत्सुकता पनि पाइन्थ्यो । सरोजा खड्गीका विभिन्न चित्रहरुसमेत प्रदर्शनीमा राखिएकाले प्रदर्शनी कला र साहित्यको संगमस्थल बनेको थियो ।
नेपाल लिटरेरी ग्रुप सहआयोजक रहेको यो महोत्सवमा लिटरेरीका अध्यक्ष प्रकाश बुढाथोकीले भने, हामी पुस्तक कल्चरको र पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रमलाई भव्य पार्न लागिपरेका छौं ।

Comments