काठमाडौंं, २३ पुस । गायिका सविना कार्कीले तेस्रो गीति एल्बम ‘सार्थक’ सार्वजनिक गरेकी छन् । गीतकार दिनेश अधिकारी, गायक आनन्द कार्की, स्वरुपराज आचार्यलगायत एल्बममा संलग्न सवैले संयुक्त रुपमा एल्बमको सार्वजनिक गरे । सार्थकमा ६ वटा गीत समावेश गरिएका छन ।
गायिका कार्कीलाई तिम्रो कल्पनामा भन्ने गीतमा गायक आनन्द कार्की र यो घरको छानो भन्ने गीतमा गायक स्वरुपराज आर्चायले साथ दिएका छन् । सचिन सिंह, सञ्जय खड्गी, विवि अनुरागी, अनिल शाही , शम्भुजित बाँस्कोटा र गायिका कार्की स्वयंको संगीत रहेको सो एल्बममा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, अनिल शाही, प्रकाश पुञ्ज, प्रविन दाहाल र गायिका कार्कीको शब्द रहेको छ । एल्बममा समावेश गरिएको ‘हिसाव किताव’ बोलको गीत कार्कीको आफ्नै आवाज,रचना र संगीतमा रहेको छ ।
‘रुनु पर्ला भन्ने डरले’ बोलको गीतको म्युजिक भिडियो समेत विमोचन समारोहमा सार्वजनिक गरिएको थियोे । कार्यक्रममा वरिष्ठ संचारकर्मी मन्जु कार्की लामिछाने, गीतकार दिनेश अधिकारी र गायक आनन्द कार्की लगायत गायिका कार्कीको सांगीतिक जिवनमा सहयोग गर्ने अरु व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्की गायनसंगै समाजसेवामा पनि संलग्न हुदै आएकी छिन् । समारोहमा विभिन्न स्रष्टा तथा संचारकर्मीले गायिका कार्कीको समाजसेवाप्रतिको लगाव र संगीतमा गरेको साधनाको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।